घोडाघोडी १० साउन २०८३ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं ८ को श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा टेक बहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न गरेको छ ।
“एकका लागि सबै, सबैका लागि एक” भन्ने मूल नारासहित स्थापना भएको सहकारीले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यहरूको बचत तथा शेयर रकम परिचालनमार्फत कृषि, व्यापार तथा व्यवसाय क्षेत्रमा कर्जा प्रवाह गरी किसानलाई आत्मनिर्भर बनाउने र स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रमका अध्यक्ष टेकबहादुर लामिछानेले सहकारी स्थापना भएको छैठौं वर्षमा प्रवेश गरेको उल्लेख गर्दै संस्थाको वित्तीय अवस्था र गतिविधि शेयर सदस्यहरूको साथ, सहयोग र विश्वासकै कारण सुदृढ बन्दै गएको बताए। उनले संस्थाको हितमा आएका अवसरहरूको अधिकतम उपयोग गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष लामिछानेले सहकारीमा दलित समुदायका सदस्यहरूको संख्या उल्लेखनीय रहेकाले राज्यले यस्ता सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। पटक–पटक पहल गर्दा पनि सरकारले सहकारी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको तथा अनुदानमुखी कार्यक्रमहरूमा नसमेटिएको भन्दै उनले गुनासो व्यक्त गरे। आगामी वर्ष संस्थालाई अझ उच्च स्तरमा पुर्याउन सञ्चालक समिति र शेयर सदस्यबीच सहकार्यलाई थप मजबुत बनाइने उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका–८ का वडा अध्यक्ष वीरबहादुर साउदले सहकारीमा बचत गर्नु भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएको बताए। बाह्य संस्थाभन्दा आफ्नै सहकारीमा बचत गर्दा संस्थाको विकासमा प्रत्यक्ष योगदान पुग्ने उल्लेख गर्दै उनले अनुदान उपलब्ध गराउन नसके पनि सहकारीको विकासमा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
अतिथि तथा लेखा संयोजक करवीर लामिछानेले संस्थाको वित्तीय अनुशासन कायम राख्दै विधानअनुसार सञ्चालन गर्न सुझाव दिँदै सफलताको शुभकामना व्यक्त गरे।
त्यसैगरी वडा सदस्य अप्सरा देवी विश्वकर्माले सहकारीको मर्म, मूल्य र मान्यता बुझेर सबै शेयर सदस्यले आफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
विशिष्ट अतिथि तथा श्री तारानगर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष झपट प्रसाद भण्डारीले कर्जा प्रवाह गर्दा सदस्यको उद्देश्य, उत्पादनमुखी योजना तथा भुक्तानी क्षमताको मूल्याङ्कन गर्नुपर्ने बताए। उत्पादनशील क्षेत्रमा किसानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै धेरै साना सहकारी सञ्चालन गर्नुको सट्टा आवश्यक परे मर्जरमार्फत बलियो सहकारी निर्माण गर्नुपर्ने सुझाव दिए। साथै दुवै सहकारी संस्थाको संयुक्त आयोजनामा सहकारी सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने धारणा राखे।
अतिथि कमल सदाशंकरले सहकारी समुदायको बचत सुरक्षित राख्ने साझा ढुकुटी भएको उल्लेख गर्दै संस्थाको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा संस्थाका सचिव रोशन रसाइलीले आर्थिक वर्ष २०८२/८३ को लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल वित्तीय कारोबार रु. ४३ लाख ७८ हजार ७८२ रुपैयाँ ६५ पैसा रहेको जानकारी दिए। साथै आर्थिक वर्ष २०८३/८४ मा ३५० जना शेयर सदस्य पुर्याउने लक्ष्य लिइएको बताए।
साधारण सभामा सहभागी शेयर सदस्यहरूले आर्थिक वर्ष समाप्त भएको एक साताभित्रै सम्पूर्ण लेखाजोखा सम्पन्न गरी वार्षिक साधारण सभा आयोजना गर्नु संस्थाको समयपालन, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धताको सकारात्मक उदाहरण भएको बताएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन रसाइलीले गरेका थिए भने शेयर सदस्यहरुको सहभागिता रहेको थियो।





