कैलाली, १५ साउन — कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, तारानगर ले सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपैयाँ विशेष अनुदानबाट उपलब्ध गराइएका शैक्षिक तथा प्रशासनिक सामग्री गुणस्तरहीन भएको आरोप लगाएको छ।
विद्यालयका अनुसार प्रदेश सरकारले विद्यालयको प्रशासनिक व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउने सम्झौता गरेको थियो। तर, प्राप्त सामग्री गुणस्तरीय नभएको, माग गरिएका सबै सामग्री नआएको तथा केही सामग्री पहिले नै प्रयोग भइसकेको जस्तो देखिएको विद्यालय पक्षको दाबी छ।
विद्यालयका प्रधानाध्यापक नरबहादुर चौधरी ले विद्यालयले सामग्रीको आधिकारिक भरपाई नगरेको पुष्टि गर्दै भने, “सामान विद्यालयको जिम्मामा राखिएको छ तर हामीले हालसम्म भरपाई गरेका छैनौँ। आएका सामग्रीमध्ये केही विद्यालयले मागेअनुसार छैनन् र केही सामग्री पहिले नै प्रयोगमा आइसकेको जस्तो देखिन्छ।”
विद्यालयका पूर्वप्रधानाध्यापक सुबोधकुमार शर्मा ले पनि विद्यालयले माग गरेको सूचीअनुसार सामग्री नआएको दाबी गरेका छन्। उनका अनुसार २५ लाख रुपैयाँ बराबरको सामग्री आउनुपर्ने भए पनि वास्तविक रूपमा करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको सामग्री मात्र आएको जस्तो देखिएको छ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा विनियोजित सार्वजनिक बजेट मापदण्डअनुसार पारदर्शी रूपमा खर्च हुनुपर्नेमा विद्यालयले गुणस्तरहीन सामग्री प्राप्त भएको आरोप लगाएपछि यस विषयले गम्भीर प्रश्न उठाएको छ। विद्यालय प्रशासनले यस्तो अवस्थाले विद्यार्थीहरूको पठनपाठन तथा विद्यालयको समग्र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पर्ने जनाएको छ।
यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा भने आउन बाँकी छ। स्थलगत रूपमा विद्यालयमा पुगेको जानकारीका आधारमा विद्यालय पक्षले गुणस्तरहीन सामग्री प्राप्त भएको दाबी गरेकाले वास्तविक अवस्था के हो भन्ने विषयमा सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक देखिएको छ।
यो समचार पढेर तपाईलाई कस्तो लाग्यो ?





