जनहित खबर

Janahit khabar

शिक्षा समाचार

शिक्षक नियुक्ति सेटिङमा पारदर्शिता नभएको आरोप

घोडाघोडी, कैलाली, २० साउन // घोडाघोडी नगरपालिका–८ जरहीस्थित श्री बालज्योति आधारभूत विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लागेको छ ।

घोडाघोडी नगरपालिकाले विद्यालयलाई अनुदान स्वरूप एक जना शिक्षक उपलब्ध गराएपछि विद्यालय व्यवस्थापन समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। उक्त पदका लागि दिल बहादुर थापा, धन बहादुर साउद, कुन्टी बोहोरा र अनिशा वि.क सहित चार जना उम्मेदवारले आवेदन दिएका थिए। विद्यालय व्यवस्थापन समितिले चारै जना उम्मेदवारलाई आपसी सहमतिमा एक जनाको नाम सिफारिस गरेर आउन आग्रह गरेको थियो। तर उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि विद्यालय व्यवस्थापन समितिले धनबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

तर नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको तथा ‘सेटिङ’का आधारमा निर्णय गरिएको भन्दै केही उम्मेदवार र स्थानीय खडक बहादुर वि.क ले आपत्ति जनाएका छन्। उनीहरूले योग्यता र प्रतिस्पर्धालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।

घोडाघोडी नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक उमेशराज रेग्मीले नियुक्ति प्रक्रिया कानुनी रूपमा उपयुक्त नदेखिएकाले रद्द गरिएको जानकारी दिए। उनका अनुसार विद्यालय व्यवस्थापन समितिलाई सबै उम्मेदवारलाई समान अवसर प्रदान हुने गरी , कार्यविधि र पारदर्शिताका आधारमा पुनः शिक्षक छनोट प्रक्रिया सञ्चालन गर्न निर्देशन तथा आवश्यक सहजीकरण गरिएको जनाएका हुन ।

स्थानीय नागरिकका अनुसार विद्यालयमा दलित समुदायका विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको छ। त्यसैले शिक्षक नियुक्ति गर्दा समावेशी भावना, समुदायको आवश्यकता तथा सार्वजनिक विश्वासलाई समेत ध्यानमा राख्नुपर्ने उनीहरूको भनाइ छ।

यता विद्यालयका प्रधानाध्यापकले भने उम्मेदवारहरूलाई आपसी सहमतिबाट टुङ्गो लगाएर आउन भनिएको भए पनि सहमति हुन नसकेपछि विद्यालय व्यवस्थापन समितिले आफ्नो निर्णयअनुसार नियुक्ति गरेको बताएका हुन ।

शिक्षा क्षेत्रमा पारदर्शिता, निष्पक्षता र योग्यताका आधारमा शिक्षक नियुक्ति हुनुपर्ने माग उठिरहेका बेला श्री बालज्योति आधारभूत विद्यालयको यो घटनाले विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय र नगरपालिकाबीच समन्वय तथा कानुनी प्रक्रियाको पालनबारे पुनः प्रश्न खडा गरेको छ।अब नगरपालिकाको निर्देशनअनुसार विद्यालयले नयाँ प्रक्रिया अघि बढाउने तयारी गरेसँगै आगामी नियुक्ति प्रक्रिया कति पारदर्शी र निष्पक्ष हुन्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ।

1 COMMENTS

  1. नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको तथा ‘सेटिङ’का आधारमा निर्णय गरिएको भन्दै केही उम्मेदवार र स्थानीयले आपत्ति जनाएका छन्।
    उक्त भनाइ लाई प्रमाण सहित देखाउन पत्रकार मित्र हरु लाई मेरो अनुरोध छ । एक पछ को कुरा सुनेर यस्तो समाचार प्रसारण गर्न उचित हुदैन।यदि सेटिङ भयको छ भने बिधालय ब्यबस्थापन समिती ले राजिनामा दिई बाटो खुल्ला गर्नु पर्छ। र पत्रकार हरुले बिधालय मा आयर जिम्मेवारी ब्यक्ति हरु सङ सोधपुछ गर्नु पर्छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *