टीकापुर, ७ साउन // कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ अन्तर्गत एकतानगर र विशालनगरका बासिन्दा वर्षायाममा रुख ढल्ने जोखिमका कारण जोखिमपूर्ण वसाई वस्न वाध्य भएका छन्।
स्थानीयका अनुसार वर्षेनी बाढी र सुकेका रुख ढल्ने घटनाले जिउधनको क्षति हुने जोखिम बढ्दै गएको छ। स्थानीयका अनुसार गत राति करिब १० बजेतिर विशालनगर निवासी धनसरा बारकोटीको घरमाथि सुकेको रुख ढलेको थियो। रुख घरको छानामाथि खस्दा छानाका सामग्री झरेर घरभित्र रहेका दुई महिलामध्ये एक वृद्ध महिलाको घाटीमा तथा अर्की महिलाको टाउकोमा चोट लागेको पीडितले बताएका छन्।
घटनामा मानवीय क्षति भने नभए पनि दुवै घाइते भएका छन्। स्थानीयले यस घटनालाई ठूलो दुर्घटनाबाट जोगिएको भन्दै जोखिमपूर्ण रुख तत्काल हटाउन सम्बन्धित निकायसँग माग गरेका छन्।स्थानीय बासिन्दाका अनुसार टीकापुर नगरपालिका–१ मा रहेको सुकुम्बासी बस्तीमा पाँच हजारभन्दा बढी घरधुरी बसोबास गर्दै आएका छन्। उनीहरू वर्षौंदेखि बाढी, डुबान तथा रुख ढल्ने समस्याबाट प्रभावित हुँदै आएको गुनासो गर्छन्। सुरक्षित आवास र आधारभूत सेवाको प्रत्याभूति राज्यले गर्नुपर्ने भए पनि आफूहरू अझै जोखिमपूर्ण अवस्थामा बस्न बाध्य भएको उनीहरूको भनाइ छ।जग्गा व्यवस्थापनको विषय पनि वर्षौंदेखि समाधान हुन सकेको छैन।
स्थानीयका अनुसार प्रत्येक निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरू लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि करिब दुई दशकदेखि बसोबास गर्दै आएका नागरिक अझै जग्गाविहीन अवस्थामै छन्।
यता टीकापुर बहुमुखी क्याम्पसले ३८१ बिघा जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएको छ। तर सुकुम्बासी बस्तीका बासिन्दाले क्याम्पसको स्वामित्वमा ८१ बिघा मात्रै रहेको र बाँकी करिब ३०० बिघाको दाबीप्रति आपत्ति जनाउँदै आएका छन्। उता क्याम्पस प्रशासनले भने सो ३०० बिघा जग्गासमेत आफ्नो नाममा रहेको र त्यससम्बन्धी प्रमाणपत्र रहेको दाबी गर्दै आएको छ।
स्थानीय स्रोतका अनुसार सम्बन्धित वडा कार्यालयबाट जग्गाको चार किल्ला स्पष्ट रूपमा प्रमाणित हुन नसकेको कारण उक्त विवाद अझै समाधान हुन सकेको छैन।
सुकुम्बासी बस्तीका बासिन्दाले करिब २०–२१ वर्षदेखि सो क्षेत्रमा घरटहरा निर्माण गरी बसोबास गर्दै आएको, विद्युत् सेवा, विद्यालयलगायतका आधारभूत संरचना समेत स्थापना भइसकेको र निरन्तर भोगचलन गर्दै आएको दाबी गरेका छन्।
उनीहरूले तत्काल जग्गा विवाद समाधान गरी लालपुर्जा वितरण गर्न, जोखिमपूर्ण रुख हटाउन तथा सुरक्षित बासस्थानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





