जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

रानीतालमा डुङ्गा सञ्चालन, घोडाघोडीको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

घोडाघोडी,१ श्रावण २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–१२ स्थित घोराही सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको कोटा सप्तरङ्गी पार्क नजिकैको रानीतालमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यले डुङ्गा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

स्थानीय पर्यटनको विकास, पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने तथा स्थानीय व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रानीतालमा डुङ्गा सञ्चालन गरिएको हो। कोटा सप्तरङ्गी पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा अब पर्यटकहरूले रानीतालमा डुङ्गा सयरको समेत आनन्द लिन सक्ने भएका छन्। घोराही सामुदायिक वन उपभोक्ता समूहका अनुसार कोटा सप्तरङ्गी पार्कसँगै रानीताललाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अनुरूप डुङ्गा सेवा सुरु गरिएको हो।

यसले घोडाघोडी नगरपालिका–१२ को पहिचान स्थापित गर्न, स्थानीय आर्थिक गतिविधि बढाउन तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरीले प्रदेश सरकार स्थानीय स्तरमा रहेका सम्भावित पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनप्रति सकारात्मक रहेको बताए। उनले सप्तरङ्गी पार्क र रानीताललाई थप व्यवस्थित तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

घोराही सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा घोडाघोडी नगरपालिकाका कार्यपालिका सदस्य आकाश परियारले स्थानीय नागरिकको चाहना र वडालाई पालिका तथा राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले विभिन्न सरोकारवालासँग समन्वय गरी पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताए। उनले आगामी दिनमा थप संरचना र सेवा विस्तार गर्दै यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।

डुङ्गा सेवा सञ्चालन शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको सभापतित्व घोराही सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आकाश परियारले गरेका थिए।

स्थानीयवासीको सक्रियता र सामुदायिक वनको पहलमा सुरु गरिएको यो सेवा घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *