जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा एमालेका चार मन्त्री बर्खास्त

कैलाली ३१ अषाढ २०८३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहेका छन्।

मुख्यमन्त्री शाहले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर प्रदेश सरकारको बजेटप्रति पार्टीको आधिकारिक धारणा स्पष्ट पार्न आग्रह गरेका थिए। सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नहुने भन्दै उनले बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट बाहिरिने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने तीनमध्ये एक विकल्प रोज्न एमालेलाई आग्रह गरेका थिए।

असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्ता साझेदार एमाले सुरुदेखि नै असन्तुष्ट रहँदै आएको थियो। बजेटमा असहमति जनाउँदै एमालेका प्रदेशसभा सदस्यहरूले खर्च कटौती प्रस्तावसमेत दर्ता गरेका थिए, जसका कारण सत्ता साझेदार दलहरूबीचको विवाद थप चुलिएको थियो।

मुख्यमन्त्री शाहले बजेटप्रति सरकारभित्रैबाट निरन्तर विरोध भइरहेपछि अन्ततः एमालेका चार मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। यस निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *