काठमाडौं, ३१ अषाढ – नेपाल आयल निगमले आज बुधबार देखि पुनः साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ अवस्था सुधार भएसँगै पूर्ण तौलको ग्यास सिलिण्डर आपूर्ति गर्ने निर्णय गरिएको हो। यससँगै अब उपभोक्ताले १४.२ किलोग्राम ग्यास भएको सिलिण्डर प्रतिसिलिण्डर २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
यसअघि ग्यास आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल अर्थात् ७.१ किलोग्राम ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो।निगमले ग्यास आपूर्तिमा सुधार आएकाले आजदेखि पूर्ण तौलको ग्यास सिलिण्डर पुनः वितरणमा ल्याइएको जनाएको छ।
यो समाचार पढेर तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला





