जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

गणेश नेपालीको मृत्यु प्रकरणमा ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको व्यवस्था

राेसन रसाइली

काठमाडौं, असार २८। काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलसँग सम्बन्धित घटनामा घाइते भई उपचाररत रहेका मृगु सोह गाउँपालिका–१, जलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असार २६ गते निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने व्यवस्था गरिएको छ।

सहमतिपत्रमा स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, नियम तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

त्यसैगरी, घटना भएको दिन घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्म निलम्बन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ।

पीडित परिवारको दीर्घकालीन सुरक्षालाई ध्यानमा राख्दै मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गरिने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने जनाइएको छ।

यस्तै, मृतकका आश्रित परिवारलाई राहतस्वरूप उचित आर्थिक सहायता उपलब्ध गराउने, अन्त्येष्टि तथा काजकिरियाको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने, परिवारजनको यातायात तथा बसोबास खर्च व्यहोर्ने तथा एकाघरका परिवार सदस्यको स्वास्थ्य बिमा गराउने विषयमा पनि सहमति भएको छ।

सहमतिपत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पहिलो पक्षका तर्फबाट हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, परिवारका सदस्य तथा वार्ता समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सहमतिपछि पीडित परिवारले मृतकको शव बुझी कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कार गर्ने सहमति भएको जनाइएको छ।

उक्त ९ बुँदे सहमतिसँगै गणेश नेपालीको मृत्यु प्रकरणमा उठेका मागहरूको सम्बोधनतर्फ सरकार र काठमाडौं महानगरपालिका प्रतिबद्ध भएको जनाइएको छ भने घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।

याे समाचार तपाइलाइ कस्ताे लाग्याे

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *