घोडाघोडी, २७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगरको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया अझै टुङ्गिन सकेको छैन।
शनिबार आयोजित अभिभावकहरूको दोस्रो भेलाबाट पनि सदस्य छनोटमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको छ। यसअघि असार २५ गते बोलाइएको पहिलो अभिभावक भेला गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको थियो। त्यसपछि शनिबार दोस्रो भेला आयोजना गरिएको थियो।
संघीय शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन, २०८३) अनुसार विद्यालय व्यवस्थापन समितिका लागि दुई जना महिला र दुई जना पुरुष गरी चार जना अभिभावक सदस्य छनोट गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सदस्य छनोटका लागि विस्तृत छलफल गरिएको भए पनि अन्तिम निष्कर्षमा पुग्न नसकिएको हो। भेलामा विद्यालयको हितमा काम गर्न सक्ने व्यक्तिलाई सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिएको थियो। प्रारम्भिक छलफलका क्रममा १२ जनाले उम्मेदवारी दिएका थिए। त्यसपछि राजनीतिक दलसँग आबद्ध उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिए पनि बाँकी सदस्यहरूको चयनमा सहमति हुन नसकेपछि उक्त भेला स्थगित गरिएको थियो।
संघीय शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) ले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न कडा मापदण्ड तोकेको छ। नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा पाँच वर्षअघिदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको व्यक्ति मात्र सदस्य र अध्यक्ष बन्न योग्य हुने व्यवस्था छ। साथै शिक्षक तथा कर्मचारीको हकमा अवकाश भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने प्रावधान पनि रहेको छ।
नयाँ शिक्षा नियमावली लागू भएसँगै विद्यालय व्यवस्थापन समितिमा राजनीतिक भागबण्डा अन्त्य गर्दै विद्यालयलाई गैरराजनीतिक र शैक्षिक सुधारमुखी संस्था बनाउने सरकारको उद्देश्य रहेको छ। शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त व्यवस्था लागू गरिएको हो।
भेलाको संयोजन घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले गरेका थिए। कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर साउद, वडा सदस्य अप्सरा देवी विश्वकर्मा तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नुहोला।





