घोडाघोडी, २७ अषाढ // कैलालीको घोडाघोडी नगरपालिका–६ र ८ जोड्ने सुक्टिकाँडा नदीमा पुल नहुँदा राष्ट्रिय माध्यमिक विद्यालय, तारानगरमा अध्ययनरत विद्यार्थीहरू बर्खायाममा ज्यानको जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य भएका छन्।घोडाघोडी–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा वडा नं. ६ बाट दैनिक ठूलो सङ्ख्यामा विद्यार्थी अध्ययनका लागि आउने गर्छन्।

यही बाटो स्थानीय बासिन्दाको पनि मुख्य आवतजावतको मार्ग हो। तर वर्षायाममा नदीमा बाढी आएपछि आवतजावत अत्यन्तै जोखिमपूर्ण हुने गरेको छ।यसअघि स्थानीय आवतजावत सहज बनाउन निर्माण गरिएको काठे अस्थायी पुल बाढीले बगाएपछि हालसम्म त्यसको विकल्पको व्यवस्था हुन सकेको छैन।
अहिले विद्यार्थीहरू विद्यालय पोशाकमै नदी तरेर विद्यालय आउजाउ गर्न बाध्य भएको दृश्य सार्वजनिक भएको छ, जसले उनीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।स्थानीयवासीका अनुसार तत्काल पक्की पुल निर्माण सम्भव नभए पनि कम्तीमा झोलुङ्गे पुल निर्माण गरिए विद्यार्थी तथा स्थानीय नागरिकलाई ठूलो राहत मिल्नेछ।
उनीहरूले सम्बन्धित निकायसँग यसतर्फ तत्काल ध्यान दिन आग्रह गरेका छन्।स्थानीयवासीले यस विषयमा घोडाघोडी नगरपालिकाले आवश्यक चासो नदिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार जनप्रतिनिधिहरूले विकासका
प्राथमिकतामा यस्ता संवेदनशील पूर्वाधारलाई समावेश नगर्दा विद्यार्थी र सर्वसाधारणले वर्षेनी सास्ती भोग्नुपरेको छ।विकासका लागि राज्यको स्रोत–साधन सीमित भए पनि जोखिमयुक्त र जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नु राज्यको दायित्व भएको स्थानीयको भनाइ छ। उनीहरूले योजना छनोट र बजेट विनियोजन प्रक्रिया पारदर्शी, सहभागितामूलक र जनआवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिएका छन्।
स्थानीयवासीले वडा तथा गाउँ भेलाबाट उठेका आवश्यक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुक्टिकाँडा नदीमा सुरक्षित आवतजावतको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला । 👍👌🥰❤️💪





