स्पष्टीकरणपछि पुनः सक्रिय देखिए डीएसपी प्रसन्नराज चौधरी, सडकमै चालकलाई ट्राफिक नियमको व्यावहारिक प्रशिक्षण
जनहित खबर
घोडाघोडी २६ अषाढ २०८३ // कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी स्पष्टीकरण प्रक्रिया पूरा गरेपछि पुनः सक्रिय रूपमा फिल्डमा देखिएका छन्।
उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमै उभिएर सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै व्यावहारिक प्रशिक्षण दिएका छन्।डीएसपी चौधरीले ट्राफिक नियमको पालना गर्नु प्रत्येक चालकको कानुनी दायित्व मात्र नभई आफ्नै सुरक्षा र अरूको जीवन रक्षासँग जोडिएको विषय भएको बताएका छन्। उनले सुरक्षित, अनुशासित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न सबै चालकलाई अनुरोध गरेका छन्।यसअघि डीएसपी चौधरीले “हामी कुनै व्यक्ति विशेषका होइनौँ, नेपाल सरकारका प्रहरी हौँ। अन्यायमा परेकालाई न्याय दिलाउने जनताका प्रहरी हौँ।” भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो।उक्त अभिव्यक्तिपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा स्पष्टीकरणका लागि बोलाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ताले त्यसबेला उनीमाथि कुनै विभागीय कारबाहीको प्रक्रिया अघि नबढाइएको, केवल मौखिक रूपमा स्पष्टीकरण लिइएको बताएका थिए।
स्पष्टीकरणपछि पुनः इलाका प्रहरी कार्यालय सुखडको जिम्मेवारी सम्हालेका चौधरी अहिले ट्राफिक व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। विद्यालय, स्थानीय समुदाय र विभिन्न सरोकारवालासँगको अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रममा उनको सक्रिय सहभागिता देखिएको छ।
डीएसपी चौधरीले आफू कुनै राजनीतिक पहुँच वा प्रभावका आधारमा नभई खुला प्रतिस्पर्धा र आफ्नै क्षमता अनुसार नेपाल प्रहरी सेवामा प्रवेश गरेको बताउँदै आएका छन्। राष्ट्र र नागरिकको सेवामा निष्पक्ष रूपमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ। उनी इलाका प्रहरी कार्यालय सुखडमा आएपछि भएका केही घटनाका सन्दर्भमा उनको कार्यशैलीलाई लिएर आलोचना र प्रश्न पनि उठेका थिए।
तर पछिल्लो समय सामाजिक सञ्जालमा उनको सक्रियता, समुदायसँगको समन्वय र कानुन कार्यान्वयनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्ने टिप्पणीहरू पनि उल्लेख्य देखिएका छन्। यद्यपि, उनको कार्यशैलीप्रति आलोचनात्मक धारणा राख्नेहरू पनि छन्।प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीले आफ्ना मातहतका प्रहरी कर्मचारीलाई “प्रहरीको बर्दी देख्दा अपराधी डराउनुपर्छ र पीडित नागरिकले प्रहरीलाई न्यायको भरोसाको केन्द्रका रूपमा अनुभूति गर्नुपर्छ” भन्ने सन्देश दिँदै काम गर्न निर्देशन दिने गरेका छन्।
सुखड क्षेत्रमा ट्राफिक अनुशासन कायम गर्ने, समुदायसँगको सम्बन्ध बलियो बनाउने र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ डीएसपी चौधरीले आफ्नो कार्यसम्पादनलाई निरन्तरता दिएका छन्।





