घोडाघोडी (कैलाली), असार २१ // “स्वस्थ युवा, सबल समाज : बडिमालिका युथ क्लबको अटल विश्वास” भन्ने मूल नारासहित कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बडिमालिका युथ क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ।

क्लबका संस्थापक अध्यक्ष नरेशजंग शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य खुसीराम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने, विशिष्ट अतिथि घोडाघोडी सञ्चार समुहका अध्यक्ष खेम ढुङ्गाना, अतिथि चिडियाताल युवा क्लबका अध्यक्ष युवराज देवकोटा, आईपीएल क्रिकेट खेलाडी टेक रावत, वीरेन्द्र क्रिकेट एकेडेमीका संयोजक राजन मल्ल तथा स्थानीय युवा–युवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद चौधरीले युवालाई कुलत, विकृति र विसङ्गतिबाट जोगाउन सामाजिक तथा खेलकुद गतिविधिमार्फत संगठित गर्ने युवा क्लबहरूको भूमिका महत्वपूर्ण रहेको बताए। बडिमालिका युथ क्लबले छोटो अवधिमै युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेखनीय काम गरेको भन्दै उनले प्रशंसा गरे।

आफू पनि क्लबको सदस्यका रूपमा साथ रहने उल्लेख गर्दै चौधरीले क्लबको संस्थागत विकास, व्यवस्थापन तथा आवश्यक सहजीकरणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलाडी बन्ने इच्छा बोकेर राजनीति क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उनले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न र अवसरको सदुपयोग गर्न आग्रह गरे। उनले युवाको क्षमता विकास, नेतृत्व निर्माण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम र खेलकुद गतिविधिमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। साथै, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकता र जनअपेक्षा अनुसार बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। त्यसका लागि युवा तथा नागरिकले पनि आफ्नो आवाज सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ थियो।

विशिष्ट अतिथि खेम ढुङ्गानाले बडिमालिका युथ क्लबले छोटो समयमै युवामैत्री र सामाजिक गतिविधिमार्फत उदाहरणीय काम गरेको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

अतिथि युवराज देवकोटाले स्थानीय युवा क्लबहरूबीच आपसी सहकार्य, भाइचारा र सहयोगको भावना विकास गर्दै समाज परिवर्तनका अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा संस्थापक उपाध्यक्ष भजनबहादुर शाहीले स्वागत मन्तव्य राख्दै घोडाघोडी क्षेत्रमा बढ्दो कुलत नियन्त्रण, युवालाई खेलकुदमार्फत संगठित गर्ने तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले क्लब स्थापना गरिएको बताए।

कार्यक्रमको सञ्चालन संस्थापक सचिव सागर भण्डारीले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष नरेशजंग शाहीले क्लबको स्थापना पछिका ६ महिनामा सम्पन्न गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। अधिवेशनले क्लबको भावी रणनीति, संगठन सुदृढीकरण तथा युवामुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित नया कार्यसमिति निर्वाचनको लागि खेम ढुङ्गानाको संयोजकत्वमा गठित ३ सदस्य निर्वाचन मण्डल गठन गरि उद्घाटन सत्र सम्पन्न गरेको आयोजकले जनाएको छ।

निर्वाचन मण्डलका संयोजक खेमढुंगानाको अध्यक्षतामा बसेको बैठकले पुनः नरेश जंग शाहीको अध्यक्षता मा रहनेगरी सात जनाको कार्यसमिति सर्वसमत चयन गरिएको जनाइएको छ। ।

जसमा उपाध्यक्ष रोशन रसाइली कोषाध्यक्ष सागर भण्डारी सचिव भजनबहादुर शाही र दुइ महिला र एक पुरुष सदस्यहरू रहनेगरी नयाँ कार्यसमिति चयन गरिएको जनाइएको छ ।

तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *