घोडाघोडी २० अषाढ // २२ औँ एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ मा महिला ४०० मिटर दौडमा नयाँ राष्ट्रिय यु–२० कीर्तिमान कायम गरेकी कैलालीको घोडाघोडी नगरपालिकाकी खेलाडी सङ्गीता विकलाई घोडाघोडी नगरपालिकाले नगद रु. १ लाखसहित सम्मान गरेको छ।

शनिबार आयोजित उत्कृष्ट विद्यालय, खेलकुद क्लब, प्रशिक्षक, खेलाडी तथा विद्यार्थी सम्मान, असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री, छात्रवृत्ति तथा खेल सामग्री वितरण कार्यक्रममा नगरप्रमुख खडक रावतले विकलाई सम्मान गरेका हुन्।
यस अवसरमा उनका प्रशिक्षक तेज देउवालाई पनि सम्मान गरिएको थियो।हङकङमा सम्पन्न प्रतियोगितामा सङ्गीताले महिला ४०० मिटर दौड ५९.६१ सेकेन्डमा पूरा गर्दै सन् २०११ मा काठमाडौँमा मनीषा अधिकारीले बनाएको १५ वर्ष पुरानो राष्ट्रिय यु–२० कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेकी हुन्।कार्यक्रममा शिक्षा क्षेत्रका उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई पनि सम्मान गरिएको थियो। नगरभित्रको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका विद्यार्थी दीपेश रेग्मीलाई रु. १० हजार नगदसहित सम्मान गरिएको छ।
त्यस्तै, एसइईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका १५ जना विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीयका आधारमा क्रमशः रु. १० हजार, रु. ७ हजार ५०० र रु. ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।कक्षा ८ को परीक्षामा ४ जीपीए प्राप्त गरेका सामुदायिक तथा संस्थागत विद्यालयका २३ जना विद्यार्थीलाई जनही रु. ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। साथै कक्षा ८ र एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेत सम्मान गरिएको थियो। नगरपालिकाले १३४ जना असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ भने सामुदायिक विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने उत्कृष्ट ११ जना विद्यार्थीलाई वार्षिक रु. ९ हजारका दरले छात्रवृत्ति प्रदान गरेको जनाएको छ।
विभिन्न खेलकुद क्लबलाई क्रिकेट तथा फुटबलका खेल सामग्री वितरण गर्नुका साथै खेल प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खडक रावतले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा पूर्वाधार विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। सुदूरपश्चिममै उत्कृष्ट शैक्षिक नतिजा दिने नगरपालिका बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा शिक्षा र खेलकुद क्षेत्रमा थप लगानी गरिने जानकारी दिए।
उपप्रमुख गुलिया चौधरीले गुणस्तरीय शिक्षाबिना समृद्ध घोडाघोडीको परिकल्पना सम्भव नरहेको बताउँदै शैक्षिक उपलब्धिले नगरको प्रतिष्ठा बढाएको धारणा राखिन्। युवालाई कुलतबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएकाले खेलकुद गतिविधिलाई थप विस्तार गरिने र आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताइन्। जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र सुवेदीले सामुदायिक विद्यालयले पनि मेहनत, अनुशासन र
गुणस्तरीय शिक्षणमार्फत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उल्लेख गर्दै विद्यालयलाई अब्बल बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको साझा प्रयास आवश्यक रहेको बताए। घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले घोडाघोडीलाई शिक्षा र खेलकुदको केन्द्रका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै विद्यार्थी र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
