दिपक बिक :रिपोर्टिङ
बार्दिया, १९ अषाढ // सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्ने अभियान बर्दिया जिल्लाबाट औपचारिक रूपमा सुरु गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीमा २९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारहरूलाई लालपुर्जा हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलको सचिवालयले यो जानकारी दिएको हो।

लामो समयदेखि जग्गाको स्वामित्वबिना बसोबास गर्दै आएका यी परिवारहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्। लालपुर्जा प्राप्त गरेसँगै उनीहरूले आफ्नो जग्गामाथि पूर्ण अधिकार प्राप्त गरेका छन्।भूमि समस्या समाधान आयोगले पहिलो चरणमा बर्दियालाई छनोट गरेको हो।

आयोगका अनुसार यो अभियान देशभरका भूमिहीन, दलित तथा अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गा उपलब्ध गराउने व्यापक योजनाको सुरुवात हो।मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। उनले यो अभियानलाई थप प्रभावकारी बनाएर देशबाट भूमिहीनता अन्त्य गर्ने लक्ष्य रहेको बताइन्।
यो कार्यक्रमपछि स्थानीयहरूमा खुशी छाएको छ। लालपुर्जा पाउने परिवारहरूले अब आफ्नो जग्गामा लगानी गर्न, बैंकरबाट ऋण लिन र दीर्घकालीन बसोबास गर्न सजिलो हुने अपेक्षा गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।।😀❤️👌🥰👍
