मोहन्यालको फलेबिसौना स्वास्थ्य चौकी : भवन अधुरो, उपकरण अभाव र जीर्ण सडकले जोखिममा नागरिकको स्वास्थ्य
मोहन्याल १६ अषाढ २०८३। “कुनै पनि नागरिक उपचारविहीन हुनु मानव अधिकारविहीन हुनु हो” भन्ने भनाइलाई चरितार्थ गर्ने अवस्था मोहन्याल गाउँपालिका–३ फलेबिसौनास्थित प्राथमिक स्वास्थ्य चौकीमा देखिएको छ। दुर्गम बस्तीका नागरिकको उपचारको मुख्य आधार बनेको यो स्वास्थ्य चौकीमा पर्याप्त भौतिक पूर्वाधार, उपकरण, औषधि तथा सहज यातायातको अभावले सेवा प्रवाह गर्न कठिन बनेकाे छ ।


फलेबिसौना प्राथमिक स्वास्थ्य चौकीमा वडा नम्बर ३ का स्थानीयसँगै पत्थरगढ, बुढीआमा, मुलेकारा, सल्लेरी, सुगरखाललगायतका बस्तीबाट गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक तथा बिरामीहरू उपचारका लागि आउने गर्छन्। तर सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि स्वास्थ्य चौकी अझै आवश्यक पूर्वाधार र स्रोतसाधनबाट वञ्चित रहेको स्थानीयको गुनासो छ।
मोहन्याल गाउँपालिका कैलालीको दुर्गम पालिकामध्ये एक मानिन्छ। यस्तो भौगोलिक विकटताबीच रहेको फलेबिसौना प्राथमिक स्वास्थ्य चौकीलाई सेवा–सुविधासम्पन्न बनाउन नयाँ कार्यालय भवन, अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापन आवश्यक रहेको देखिएको छ।

स्वास्थ्य चौकीका लागि केही भवन निर्माण सम्पन्न भए पनि केही संरचना अझै निर्माणाधीन अवस्थामा छन्। स्थानीय सामुदायिक वनहरूले आर्थिक सहयोग गरी भवनको फाउण्डेशन निर्माण गरेका थिए भने वडा कार्यालयको बजेटबाट पर्खाल निर्माण गरिएको छ। तर छाना तथा फिनिसिङका लागि आवश्यक बजेट अभाव हुँदा भवन पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
स्थानीय समाजसेवी भवानी प्रसाद देवकोटाका अनुसार स्वास्थ्य चौकी बर्थिङ सेन्टरका रूपमा स्थापना भए पनि पर्याप्त उपकरण र औषधिको अभाव छ। एम्बुलेन्स उपलब्ध भए पनि आवश्यक समयमा सञ्चालनमा नआउने समस्या रहेको भन्दै उनले यसको स्पष्ट जवाफ गाउँपालिका प्रशासनले दिनुपर्ने माग गरेका छन्।

देवकोटाले वडा नम्बर ३ को रिङरोड तथा पिपल चौतारा बजारदेखि स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नति गर्न पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। उनका अनुसार जीर्ण सडकका कारण बिरामीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भइरहेको छ।
स्थानीय युवा खडक टमट्टाले पिपल चौतारा बजारदेखि स्वास्थ्य चौकीसम्मको सडक अत्यन्तै जीर्ण भएकाले एम्बुलेन्समा बिरामी लैजाँदा थप समस्या हुने अवस्था रहेको बताए। उनका अनुसार सडकको कमजोर अवस्थाले आकस्मिक स्वास्थ्य सेवामा समेत प्रत्यक्ष असर परेको छ।
यता स्वास्थ्य चौकीका प्रमुख प्रकाश थापाले आफूलाई गाउँपालिकाले वडा नम्बर ३ को सचिवको जिम्मेवारीसमेत काजमा दिएको बताए। एउटै व्यक्तिले स्वास्थ्य चौकी र वडा कार्यालय दुवैको जिम्मेवारी सम्हाल्नुपर्दा सेवा प्रवाहमा चुनौती थपिएको उनको भनाइ छ।
स्थानीयका अनुसार एउटै कर्मचारीलाई दुईवटा महत्वपूर्ण जिम्मेवारी दिनु गाउँपालिकाको गैरजिम्मेवारीपूर्ण निर्णय हो। यसले स्वास्थ्य सेवा र प्रशासनिक दुवै काम प्रभावित भएको उनीहरूको आरोप छ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि वडा अध्यक्षमा निर्वाचित नवीन गिरीको कार्यकाल नसकिँदै निधन भएको थियो। त्यसपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका मानबहादुर विष्टको पनि निधन भएपछि हाल वडामा तीन जना सदस्य जनप्रतिनिधिमात्र कार्यरत छन्।


स्थानीयवासीले दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति, उपकरण, औषधि, पूर्ण भवन, नियमित एम्बुलेन्स सेवा तथा गुणस्तरीय सडकको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम क्षेत्रका नागरिकलाई पनि सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो।
याे समाचार तपाइलाइ कस्ताे लाग्याे । प्रतीक्रिया दिनुहाेला ।





