जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

शिक्षा समाचार

खोजमूलक पत्रकारिता आजकाे आवश्यक्ता

खोजमूलक पत्रकारिता सुसज्जित बनाउन बर्दगोरियामा तीनदिने पत्रकारिता तालिम सम्पन्न

बर्दगोरिया १३ अषाढ कैलाली // पछिल्लो समय सामाजिक सञ्जालमा ‘भाइरल’ हुने प्रवृत्तिले तथ्य र वास्तविकतामा आधारित पत्रकारितामाथि चुनौती थपिरहेका बेला खोजमूलक तथा प्रमाणमा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकामा तीनदिने खोजमूलक पत्रकारिता तालिम सम्पन्न भएको छ।

स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा खोजमूलक पत्रकारिताका सिद्धान्त, अनुसन्धान प्रक्रिया तथा तथ्यमा आधारित समाचार लेखनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै सूचना उत्पादन सहज बन्दै गए पनि तथ्यको गहिरो खोज, अनुसन्धान र प्रमाणमा आधारित समाचार तयार गर्नु चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

तालिममा प्रमुख प्रशिक्षक विद्या राईले खोजमूलक पत्रकारिताका आधारभूत सिद्धान्त, अनुसन्धानका विधि तथा प्रमाणमा आधारित समाचार लेखनबारे सहजीकरण गर्नुभयो। यसका साथै सुशासन, वातावरणीय खोजमूलक पत्रकारिता तथा निर्माण र विकाससँग सम्बन्धित खोजमूलक पत्रकारिताका विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिएका थिए।

तालिम समापन कार्यक्रममा बर्दगोरिया गाउँपालिका–१ का वडा अध्यक्ष मिथुन गौतमले पत्रकारलाई राज्यको चौथो अङ्ग तथा जनताका तेस्रो आँखाका रूपमा व्याख्या गर्दै निष्पक्ष, प्रमाणमा आधारित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गर्नुभयो। उहाँले समाजमा सत्य र विश्वसनीय सूचना प्रवाह गर्न पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

उक्त तालिममा सहभागी समेत रहेकी सञ्चारिका समूहकी अध्यक्ष पत्रकार चाँदनी आचार्यले गाउँपालिकाले सिकाइको महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक पत्रकारितामा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख प्रशिक्षक विद्या राईले सहभागी पत्रकारहरूको उत्साह र सिकाइप्रतिको लगाव प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि खोजमूलक पत्रकारिताको क्षेत्रमा काम गर्न इच्छुक पत्रकारहरूलाई आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको बताउनुभयो।

बर्दगोरिया गाउँपालिकाको आयोजनामा सम्पन्न तालिममा स्थानिय विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि सक्रिय पत्रकारहरूको उल्लेखनिय सहभागिता रहेको थियो। समापन कार्यक्रममा पत्रकारिताको मर्यादा, अनुशासन, निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात् गर्दै समाजमा सत्य, तथ्य र सन्तुलित सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले आगामी दिनमा खोजमूलक तथा प्रमाणमा आधारित पत्रकारितालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिम सम्पन्न भएपछि सहभागी पत्रकारहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

तपाइलाइ याे समाचार पढेर कस्ताे लग्याे प्रतिक्रिया दिनुहाेला ।।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *