मोहन्याल, ११ असार । सेवक नेपाल, धनगढी–कैलाली र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित एमरेड (EMRED) परियोजना अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिकाका समुदायस्तरीय विपद् स्वयंसेवकहरूका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम (Disaster Volunteer Mobilization Training) सञ्चालन भइरहेको छ।
मोहन्याल गाउँपालिका वडा नं. १, २, ३ र ७ का समुदायस्तरीय खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलका सदस्यहरूलाई लक्षित गरी बौनियास्थित सडकपुरको हाइवे प्लाजामा असार ६ गतेदेखि १२ गतेसम्म तालिम सञ्चालन गरिएको हो।तालिममा २४ जनाको सहभागिता रहेको छ। सहभागीमध्ये ७ जना पुरुष र १७ जना महिला रहेका छन्। समुदायस्तरमै विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै विपद्को समयमा प्रभावकारी उद्धार, प्राथमिक उपचार तथा स्वयंसेवक परिचालन गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिममा आगलागी, बाढी, पहिरो, भूकम्प, सडक दुर्घटना, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् जोखिम न्यूनीकरण तथा विपद्पूर्व तयारीलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान भइरहेको छ।मुख्य प्रशिक्षक खगेन्द्र राज जोशी सहित रतन टमट्टा, चन्द्र साउद, मार्कण्डेय उपाध्याय र सरस्वती भाट ले प्रशिक्षण दिइरहनुभएको छ।
तालिम नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको पाठ्यक्रमअनुसार सञ्चालन भइरहेको आयोजकले जनाएको छ। तालिम सम्पन्न भएपछि सहभागी स्वयंसेवकहरूले स्थानीय तहमा हुने विपद्का घटनामा खोज तथा उद्धार, प्राथमिक उपचार र समुदाय परिचालनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला।
