जनहित खबर

Janahit khabar

समाचार

खैरो हेरोइनसहित ४ जना पक्राउ, २६ लागूऔषध सेवनकर्ता नियन्त्रणमा

टीकापुर, असार १०
कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा प्रहरीले ८.७३० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ। साथै लागूऔषध सेवन गरेको आशंकामा २६ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी का अनुसार कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज बलराम बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–२ का १८ वर्षीय अभिषेक ठकुल्ला, सोही स्थानका ३० वर्षीय सञ्जय नगारी, टीकापुर नगरपालिका–७ का १९ वर्षीय अङ्कित मल्ल र १९ वर्षीय अभिषेक सुमार रहेका छन्। उनीहरूको साथबाट ८.७३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
यसैबीच, कालाकुण्डा प्रहरीले खक्रौला नाका क्षेत्रमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा लागूऔषध सेवन गरेको आशंकामा २६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले जानकारी दिनुभयो।
सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै खैरो हेरोइनसहित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। भारततर्फ आवतजावत गर्ने तथा लागूऔषध सेवन गरी नेपाल फर्किने व्यक्तिहरूमाथि समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा नियमित चेकजाँचलाई तीव्रता दिएको जनाएको छ।

स्रोत गणेश क्षेत्री बृहत मिडिया

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *