घोडाघोडी, ७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तिलकनगरका स्थानीय भोजबहादुर शाहीले पत्रकार रोशन रसाइली र पुरन रसाइलीलाई दिएको ज्यान मार्ने धम्कीसम्बन्धी अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागेका छन्।

असार ६ गते राति करिब १० बजे सामूहिक रूपमा घरमा आइ पत्रकारलाइ ज्यान मार्ने धम्की दिएको भनिएको घटनापछि इलाका प्रहरी कार्यालय सुखडमा छलफल तथा समन्वय बैठकमा शाहीले आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरी, दलित अधिकारकर्मी तथा जिल्ला संयोजक लालबहादुर गौतम सुनार, घोडाघोडी सञ्चार समूहका अध्यक्ष खेम ढुङ्गाना, सचिव वीरेन्द्र शाह, मोहनी आधारभूत विद्यालयका प्रधानाध्यापक चेतबहादुर बोहरा, शिक्षक भूपेन्द्र कुँवर, शिक्षक विजय शाही, स्थानीय समाजसेवी कमल सदाशंकर, कर्णबहादुर रसाइली लगायत विभिन्न बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उक्त बैठकमा शाहीले पीडित पक्षसमक्ष “एक पटक सुधारिने अवसर दिनुहोस्” भन्दै आममाफी मागेपछि उपस्थित सबै पक्षबीच सहमति कायम भएको जनाइएको छ।

घटनापछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, घोडाघोडी सञ्चार समूह तथा अनलाइन टिभी संघले पत्रकारहरूको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि संयुक्त रूपमा चासो व्यक्त गर्दै जनहित खबरका संवाददाता तथा प्रकाशक रोशन रसाइलीको सुरक्षाको माग गरेका थिए। सो सम्बन्धमा सम्बन्धित संस्थाहरूले आधिकारिक विज्ञप्तिसमेत जारी गरेका थिए।

नेपालको संविधानले सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। सार्वजनिक सरोकारका विषयमा खोज, अनुसन्धान तथा समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत दायित्व र लोकतान्त्रिक समाजमा महत्वपूर्ण भूमिका मानिन्छ।

सरोकारवालाहरूले पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दबाब तथा भय सिर्जना गर्ने गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पार्ने भएकाले यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *