घोडाघोडी, ३ जेष्ठ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुले रानी सामुदायिक वन अन्तर्गत रहेको बुलबुले धारा पर्यटन क्षेत्रमा बुद्ध प्रतिमा प्रतिस्थापन तथा बौद्ध अम्बेडकर पार्क उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिया प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी भन्ते बोधी ज्ञान तथा उज्यालो नेपाल पार्टीका उपमहासचिव जितराम लामा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा उज्यालो नेपाल पार्टी ललितपुर जिल्ला अध्यक्ष पदम गोले, घोडाघोडी नगरपालिका वडा नं. ९ का अध्यक्ष हरिचरण शाह, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विश्व शान्ति बिहार काठमाडौंका भन्ते बोधी ज्ञान तथा उज्यालो रामेश्वर श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा बुद्ध प्रतिमाको स्थापना गरी बौद्ध अम्बेडकर पार्कको औपचारिक उद्घाटन गरिएको थियो। घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको बुलबुले रानी सामुदायिक वन क्षेत्रभित्र पर्ने बुलबुले पार्कमा बुद्धको प्रतिमा स्थापना गरिएको आयोजकले जनाएको छ।

उक्त स्थानलाई बौद्ध धर्मावलम्बीहरूका लागि धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण तथा प्रतिमा प्रतिस्थापन गरिएको बताइएको छ। कार्यक्रमका वक्ताहरूले बुद्धका शान्ति, करुणा र मानवताका सन्देशलाई समाजमा फैलाउन यस्ता संरचनाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै बुलबुले क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *