विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको एक महिना बित्दा पनि नयाँ समिति गठन किन हुन सकेन ? अभिभावकको प्रश्न रहेकाे छ ।

घोडाघोडी ३ अषाढ २०८३ ,// कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ स्थित श्री मोहनी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि नयाँ समिति गठन प्रक्रिया अगाडि नबढाइएको भन्दै अभिभावक तथा सरोकारवालाहरूले विद्यालय प्रशासन र नगरपालिकाको शिक्षा शाखाप्रति प्रश्न उठाएका छन्।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल २०८३ जेठ ४ गते समाप्त भएको भए पनि हालसम्म अभिभावक भेला आह्वान गरी नयाँ समिति चयन गर्ने प्रक्रिया सुरु नभएको अभिभावकहरूको गुनासो छ। शिक्षा सम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त हुनुअघि नै अभिभावक भेला गरी नयाँ समिति चयनको प्रक्रिया अघि बढाउनुपर्ने भए पनि त्यसतर्फ विद्यालय प्रशासनले कुनै चासो नदिएको आरोप लगाइएको छ।
विद्यालयमा २०८० जेठ ४ गते भोजबहादुर शाहीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो। तीन कार्यकालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका शाहीको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार हुन नसकेको तथा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहेको अभिभावकहरू बताउँछन्।
स्थानीय अभिभावकहरूका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष स्वयं विद्यालयको जग्गा ठेक्कामा लिने पक्षसमेत रहेको विषयले स्वार्थ बाझिने अवस्था सिर्जना गरेको छ। साथै विद्यालयको ठेक्काबाट उठ्नुपर्ने रकमसमेत पूर्ण रूपमा संकलन नभएको दाबी गरिएको छ। विद्यालयमा विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजासम्बन्धी कार्यतालिका समेत सार्वजनिक रूपमा नराखिएको अभिभावकहरूको भनाइ छ।
कक्षा ८ सम्म सञ्चालन हुँदै आएको विद्यालय नगरपालिकाको विद्यालय समायोजन (मर्ज) नीतिपछि कक्षा ५ सम्म सीमित भएको थियो। विद्यालयका पूर्व प्रधानाध्यापक चक्रबहादुर नेपालीको कार्यकालमा पठनपाठनको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको अभिभावकहरूको भनाइ छ। नेपाली स्थायी शिक्षक सेवामा छनोट भई अन्य विद्यालयमा सरुवा भएपछि विद्यालयको नेतृत्व निमित्त प्रधानाध्यापक चेतनबहादुर बोहराले सम्हाल्दै आएका छन्।
यसैबीच, निमित्त प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्बन्धी विषयमा पनि स्थानीय स्तरमा प्रश्न उठेको छ। विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दा कानुनी योग्यता र वरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सरोकारवालाहरूले नियुक्ति प्रक्रिया नियमसंगत भए–नभएको विषयमा स्पष्टता माग गरेका छन्।
विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको, विद्यार्थी संख्या घट्दै गएको तथा व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पनि नयाँ समिति गठन नगर्दा विद्यालय प्रशासनिक रूपमा अन्योलमा परेको स्थानीयहरूको भनाइ छ। विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति संरक्षण, शैक्षिक गुणस्तर सुधार, नीति निर्माण तथा निगरानीमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको अभावले विद्यालय सञ्चालनमै असर पर्न सक्ने सरोकारवालाहरूको चिन्ता छ।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भएको लामो समय बितिसक्दा पनि नयाँ समिति गठनका लागि कुनै औपचारिक प्रक्रिया सुरु नगरिनुले विद्यालय प्रशासन र नगरपालिकाको शिक्षा शाखाको भूमिका माथि प्रश्न उठाएको छ। यस विषयमा सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्दै आवश्यक प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग अभिभावक तथा स्थानीयवासीहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *