कैलाली ३१ जेष्ठ २०८३ / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका ४७ वटा घरटहरा तथा अन्य संरचनाहरू हटाइएको छ।
डिभिजन वन कार्यालय कैलालीको नेतृत्वमा शुक्रबारदेखि सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत गोदावरी पर्यटकीय क्षेत्रको सालिनी वाटिकाको गेटदेखि भाइरल हात, भाइरल पिङ लगायतका विभिन्न संरचनाहरू डोजर प्रयोग गरी हटाइएको हो। डिभिजन वन कार्यालय कैलाली, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा व्यवस्थामा भिमदत्त राजमार्गअन्तर्गत गोदावरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेका अवैध संरचनाहरू हटाइएको जनाइएको छ।
पछिल्लो समय उक्त क्षेत्रमा केही व्यक्तिहरूले व्यापारिक तथा निजी प्रयोजनका लागि वन क्षेत्र अतिक्रमण गरी घरटहरा तथा अन्य संरचनाहरू निर्माण गर्ने क्रम बढ्दै गएको थियो। वन क्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कानुन बमोजिम अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख राम बिचारी ठाकुर का अनुसार अतिक्रमणकारीहरूलाई पटक–पटक सूचना तथा चेतावनी दिइएको भए पनि अटेर गरेकाले कानुनी प्रक्रिया अनुसार डोजर प्रयोग गरी संरचना हटाउने कार्य अघि बढाइएको हो। गोदावरी पुलदेखि करिब चार किलोमिटर माथिसम्मको सडक किनार क्षेत्रमा रहेका घरटहरा हटाउने क्रममा केही स्थानमा विवाद समेत सिर्जना भएको थियो।
सो क्रममा अवरोध सिर्जना गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ।वन क्षेत्रको संरक्षण, प्राकृतिक सम्पदाको जगेर्ना तथा अवैध अतिक्रमण नियन्त्रणका लागि आगामी दिनमा समेत यस्ता अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
