जोशीपुर, ३० जेष्ठ कैलाली । “रक्तदान जीवनदान हो, मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित जोशीपुर जेसीजले जोशीपुर बजार चोकमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

जोशीपुर जेसीजको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथि तथा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा जोशीपुरका महान रक्तदाताहरूले दान गरेको रगतले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता पुण्य कार्यहरू वर्षमा चार–पाँच पटकसम्म आयोजना गर्न सके अझ प्रभावकारी हुने धारणा व्यक्त गर्दै आगामी दिनमा गाउँपालिकासँग समन्वय गरी अझ बृहत् रूपमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।

कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएका पत्रकार तथा जनहित खबरका प्रबन्धक रोशन रसाइलीले रक्तदान गर्ने अवसर प्रदान गरेकोमा जोशीपुर जेसीजलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले “एक पिन्ट रगतले कसैको जीवन बच्न सक्छ भने त्योभन्दा ठूलो खुसीको कुरा अरू केही हुन सक्दैन” भन्दै रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमको रूपमा रहेको बताउनुभएको थियो।

जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी जीवन लाल डंगौराको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार सुजित चौधरी र उहाँकी धर्मपत्नी गीता चौधरीले आफ्ना पहिलो सन्तानको पहिलो जन्मोत्सवको अवसरमा रक्तदाताहरूलाई फलफूल वितरण गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष डंगौराले यस मानवीय अभियानलाई सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी टीकापुर, मार्गदर्शक पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी तथा सदस्यहरू, स्थानीय व्यापारी, इलाका प्रहरी कार्यालय जोशीपुर, सञ्चारकर्मी, बुद्धिजीवी तथा आफ्नो अमूल्य रगत दान गर्ने सम्पूर्ण रक्तदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

रक्तदान कार्यक्रमले समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्नुका साथै रगतको अभावमा रहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *