जोशीपुर, कैलाली, जेठ २३, २०८३ / विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको जोशीपुर गाउँपालिकामा “एक बोट वातावरणलाई सपोर्ट” भन्ने मूल नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। जोशीपुर जेसीज वर्ष २०२६ को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षण तथा हरित अभियानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रम सफल बनाउन जोशीपुर गाउँपालिकाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने शंकर सामुदायिक वन उपभोक्ता समूह र पी.के.एस नर्सरीले आवश्यक समन्वय तथा सहयोग गरेका थिए।वृक्षरोपण कार्यक्रमअघि सहभागी युवाहरूले जेसीज भवन परिसरमा सरसफाइ अभियान सञ्चालन गरेका थिए। वातावरण संरक्षणको सुरुवात आफ्नै वरपरको क्षेत्रबाट गर्नुपर्छ भन्ने सन्देशसहित गरिएको सरसफाइ पश्चात् वृक्षरोपण कार्य अगाडि बढाइएको थियो। उक्त कार्यक्रम अन्तर्गत जेसीज भवन परिसरमा वातावरणमैत्री मानिने अशोक र सगुन प्रजातिका ३० वटा बिरुवा रोपिएका छन्। रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने प्रतिबद्धता समेत सहभागीहरूले व्यक्त गरेका छन्।

जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी जीवन लाल डँगौराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष जेसी सन्तोष पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जोशीपुर जेसीजका बोर्ड पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभियानले हरियाली प्रवर्द्धनका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले जोशीपुर जेसीजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण संरक्षणका क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका छन्।
समाजमा सकारात्मक र उदाहरणीय कार्य गर्दै आएको जोशीपुर जेसीजले यस अभियानमार्फत वातावरण संरक्षणप्रति समुदायलाई थप जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ रहेको छ।
