घोडाघोडी, २६ जेठ २०८३ । “हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई आत्मसात गर्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले मुक्तकमैया शिविरमा बसोबास गर्ने एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ।

घोडाघोडी नगरपालिका–८ स्थित मुक्तकमैया शिविरमा बस्ने बुधराम चौधरीको घरको छाना निर्माणका लागि क्याम्पसमा बीबीएस संकायमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट केही रकम बचत गरी जस्तापाता खरिद गरेर सहयोग गरेका हुन्।
सहयोग कार्यक्रम भलमंसा लौटन चौधरी, शिक्षक चेतराज विनाडी, दिनेशराज जोशी तथा बिरेन्द्र कुँवरको पहलमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै भलमंसा लौटन चौधरीले नेपाल सरकारले २०५७ साल साउन २ गते मुक्तकमैया घोषणा गरेको र २०५८ साल मंसिरदेखि मुक्तकमैयाहरूको पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको स्मरण गराए। उनले मुक्तकमैया शिविरमा अझै पनि धेरै परिवार आर्थिक अभावमा जीवनयापन गरिरहेको उल्लेख गर्दै सहयोगी विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए। साथै मुक्तकमैया समुदायको जीवनस्तर उकास्न नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
शिक्षक बिरेन्द्र कुँवरले विद्यार्थीहरूले दुई दिनको खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट जस्तापाता सहयोग गरिएको जानकारी दिए। उनले विद्यार्थीहरूको यो पहलले समाजमा मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाएको बताए।
सहयोग प्राप्त गरेपछि बुधराम चौधरी परिवारले खुसी व्यक्त गर्दै सहयोगी विद्यार्थी, शिक्षक तथा क्याम्पस परिवारप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले समाजका विपन्न र आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताएका थिए। उनीहरूले यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले पनि क्याम्पसको यस मानवीय कार्यको प्रशंसा गर्दै समुदाय र शैक्षिक संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। क्याम्पसले समुदायका लागि गर्ने सकारात्मक कार्यले समुदायबाट समेत आवश्यक सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरिएको छ।
