घोडाघोडी २३ जेठ २०८३ — भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियामा नेपाल–भारत पत्रकार सम्मेलन सम्पन्न भएको छ।
प्रेस क्लब तिकुनियाको आयोजनामा भएको कार्यक्रम प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन सहजराम जैसवालले गरेका थिए।
कार्यक्रममा भारतको निघासन–१३८ का विधायक शसांक वर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपालका तर्फबाट मलवारा डल्फिन मिडिया मञ्चका सचिव धर्मेन्द्र विष्ट, माण्डव्य टाइम्सका प्रकाशक हेमन्त माण्डव्य, वरिष्ठ पत्रकार तथा कोसेली एफएमका प्रबन्ध निर्देशक लिला जंग शाही र पत्रकार वीरेन्द्र शाह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा कैलाली र बर्दियाका विभिन्न सञ्चारमाध्यममा कार्यरत १९ जना नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो।कार्यक्रमको व्यवस्थापन प्रेस क्लब तिकुनियाका अध्यक्ष राजीव खत्री, महामन्त्री आनन्द अग्रवाल, कार्यालय सचिव लभकुश तथा सदस्य सतीश कुमारलगायतले गरेका थिए।
सम्मेलनमा वक्ताहरूले नेपाल र भारत प्राचीनकालदेखि नै मित्रराष्ट्रका रूपमा परिचित रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा देखिने विभिन्न समस्या तथा दुई देशबीच उत्पन्न हुने विवादित विषयहरू समाधानका लागि पत्रकारहरूले नेतृत्व तहसम्म आवाज पुर्याई सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।सहभागी पत्रकारहरूले पत्रकारिताको मूल्य, मान्यता र मर्यादालाई कायम राख्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए।

उनीहरूले सीमावर्ती क्षेत्रमा हुने अवैध सामान ओसारपसार, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सरोकारवाला निकाय र सञ्चारकर्मीबीच समन्वय आवश्यक रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विधायक शसांक वर्माले नेपाल र भारतबीचको भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउँदै व्यापार, व्यवसाय तथा आवतजावतलाई सहज बनाउन आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा नेपालबाट सहभागी भएका पत्रकारहरूलाई खादा ओढाएर मायाको चिनोस्वरूप डायरी र कलम प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमले नेपाल र भारतका पत्रकारहरूबीच अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार तथा साझा सरोकारका विषयमा सहकार्य गर्ने वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन्।
तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला । जनहित खबर । रोशन रसाइली
