सुखड, २२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार आयोजित एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख गुलिया कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीका प्रतिनिधि, स्वास्थ्य चौकी प्रमुख, खोप केन्द्र प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडाध्यक्ष तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले अनिवार्य रूपमा सबै खोप लगाइसक्नुपर्ने व्यवस्था रहेको छ। सो अवधिमा खोप छुटेका बालबालिकालाई १६ देखि ५९ महिनाभित्र आवश्यक खोप लगाइने व्यवस्था अनुसार नगरपालिकाले छुटेका बालबालिकासमेत समेटेर पूर्ण खोप सुनिश्चितता हासिल गरेको जनाएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १५ महिनाभित्रका १ हजार ४ सय ९७ बालबालिकामध्ये १ हजार ४ सय ८० जनाले पूर्ण खोप प्राप्त गरेका छन्। यस अवधिमा शून्य डोजका १ जना र ड्रपआउट २७ जना बालबालिका रहेका थिए। त्यस्तै १६ देखि २३ महिनाभित्रका ९ सय ४६ बालबालिकामध्ये ९ सय ८ जनाले पूर्ण खोप प्राप्त गरेका छन् भने शून्य डोजका १ जना र ड्रपआउट ४७ जना बालबालिका रहेका छन्।

यस्तै, १६ देखि ५९ महिनासम्मका ३ हजार १ सय ६ बालबालिकामध्ये ३ हजार ५९ जनाले पूर्ण खोप प्राप्त गरेका छन्। उक्त समूहमा शून्य डोजका २ जना र ड्रपआउट ४६ जना बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतका अनुसार राष्ट्रिय खोप तालिका बमोजिम नगरका १२ वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। उनका अनुसार यस्तो सुनिश्चितताको सर्वेक्षण तथा घोषणा स्थानीय तहहरूले प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था रहेको छ।

पूर्ण खोपको दिगोपना कायम राख्न नगरपालिकाले हरेक वर्ष चैत महिनामा नियमित खोपको घरदैलो सर्वेक्षण गर्ने, उमेर अनुसार खोप पाए–नपाएको यकिन गर्ने तथा छुटेका बालबालिकालाई वैशाख महिनामा खोप दिने व्यवस्था गर्दै आएको जनाएको छ। प्रत्येक वडामा गठन गरिएका वडा स्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरेपछि संयुक्त हस्ताक्षरसहित पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो।

कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, कार्यालय सहयोगी तथा स्वास्थ्य शाखाका कर्मचारीहरूलाई पूर्ण खोप अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमाणपत्र र दोसल्ला ओढाएर नगर प्रमुख तथा उपप्रमुखबाट सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *