सुखड, कैलाली, १६ जेठ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुईदिने कृषक तालिम सम्पन्न भएको छ।

किसानहरूलाई प्राकृतिक तथा अर्गानिक खेतीप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित तालिममा नगरपालिकाका १२ वटै वडाका कृषकहरूको सहभागिता रहेको थियो। जेठ १४ र १५ गते सञ्चालन भएको तालिमको समापन कार्यक्रम घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा सदस्य अमन चौधरीको सभाध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

तालिमको पहिलो दिन प्रमुख प्रशिक्षक कृषि विज्ञ खगेन्द्रप्रसाद शर्माले प्राकृतिक खेती मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै उहाँले प्राकृतिक खेती प्रणाली अपनाउँदा स्वस्थ जीवनयापन र रोग नियन्त्रणमा सहयोग पुग्ने धारणा राख्नुभयो। विभिन्न अनुसन्धान तथा प्रयोगहरूले प्राकृतिक खेतीको महत्व पुष्टि गरिसकेको भन्दै किसानहरूलाई प्राकृतिक उत्पादनतर्फ उन्मुख हुन आग्रह गर्नुभयो।

दोस्रो दिन कृषि प्राविधिक लोकेन्द्रबहादुर विष्ट र तालिम संयोजक गणेशबहादुर शाहीले संयुक्त रूपमा एजोला खेती, जैविक विषादी निर्माण, पासो तथा ल्युरको प्रयोग, मित्र तथा शत्रु जीवको पहिचान लगायतका विषयमा प्रोजेक्टरमार्फत प्रशिक्षण दिनुभएको थियो। साथै सहभागी कृषकहरूलाई स्थानीय तरकारी बाली क्षेत्रमा लगेर जीवामृत तथा अग्निअस्त्र बनाउने व्यावहारिक अभ्याससमेत गराइएको थियो।

तालिममा सहभागी कृषकहरूलाई कृषि सामग्री तथा प्लास्टिकका ड्रमसहित प्रमाणपत्र वितरण गरिएको तालिम संयोजक गणेशबहादुर शाहीले जानकारी दिनुभयो। सभाध्यक्ष अमन चौधरीको हातबाट प्रमाणपत्र तथा कृषि सामग्री हस्तान्तरण गरिएको थियो।

तालिममा सहभागी कृषकहरूले दुईदिने प्रशिक्षण अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। स्थानीय स्तरमै उपलब्ध प्राकृतिक स्रोतसाधनको प्रयोग गरी माटोको उर्वराशक्ति वृद्धि गर्ने, रोग तथा किराको व्यवस्थापन गर्ने र स्वास्थ्यमैत्री कृषि उत्पादन गर्ने विषयमा महत्वपूर्ण ज्ञान हासिल गरेको उनीहरूको भनाइ छ। साथै यस्ता तालिमहरूलाई आगामी दिनमा निरन्तरता दिन तथा घोडाघोडी नगरपालिकालाई प्राकृतिक कृषि क्षेत्रको नमुना स्थानीय तहका रूपमा विकास गर्न सुझावसमेत दिएका छन्।

कार्यक्रममा बोल्दै तालिम संयोजक शाहीले किसानलाई आर्थिक रूपमा सबलीकरण गर्ने, रासायनिक मल तथा किटनाशक औषधिको प्रयोगलाई विस्थापित गर्दै प्राकृतिक खेती प्रणालीको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।

उक्त कार्यक्रमको औपचारिक उत्घाटनको घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाको सभाअध्यक्षता , कृषि विज्ञ खगेन्द्रप्रसाद शर्माको प्रमुख अतिथि, कृषि विकास शाखाका प्रमुख जनकसिंह धामी, तालिम संयोजक गणेशबहादुर शाही, कृषि प्राविधिक लोकेन्द्रबहादुर विष्टलगायतको उपस्थिति सहित घोडाघोडी नगरपालिका वडा नं १ स्थित मरुवा हलमा भएको थियो।

तपाइलाइ यो समाचार पढेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *