कैलाली, टीकापुर १३ जेष्ठ — कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी २२ वर्षीया टंका विक (सुनिता) भारतको दिल्लीस्थित देह व्यापारमा लगिएको अवस्थामा उद्धार गरी नेपाल ल्याइएको छ।
पीडित महिलाका परिवारका अनुसार उनी जेठ १ गते घरबाट टीकापुरस्थित केरा बगैँचामा काम गर्न जाने भन्दै निस्किएकी थिइन्। तर पछि उनलाई प्रलोभनमा पारी भारत लगिएको खुल्न आएको हो। पीडितको बयानअनुसार सोही क्षेत्रकी चम्फा विकले “भारतमा राम्रो काम लगाइदिन्छु” भन्दै उनलाई प्रलोभनमा पारेकी थिइन्। त्यसपछि आफ्ना दुई छोरी र एक छोरा घरमै छोडेर उनी भारत गएकी बताइएको छ। उनका अनुसार आरोपित चम्फा विकका श्रीमान भारतीय नागरिक ललितकुमारसहित आफू र अर्की एक महिला भारत पुगेका थिए।
भारत पुगेपछि सुरुमा दुई दिनसम्म ललितकुमारकै घरमा राखिएको र त्यसपछि दिल्लीमा काम लगाइदिने बहानामा देह व्यापार गराइने स्थानमा पठाइएको पीडितले बताएकी छन्।त्यहाँ आफूलाई जबरजस्ती देह व्यापारमा संलग्न गराउन खोजिएको तर आफूले अस्वीकार गरेको पीडितको भनाइ छ। उनले आत्महत्या गर्ने प्रयास गरेपछि आफूलाई बलपूर्वक काममा लगाउन नसकेको र त्यसपछि माइती पक्षलाई खबर पुर्याउन सफल भएको बताएकी छन्।घटनापछि पीडितका बालबच्चा, सासुआमा तथा माइती पक्षले विभिन्न ठाउँमा खोजी कार्य अगाडि बढाएका थिए।
यस क्रममा जनहित खबर बाट सार्वजनिक गरिएको खोजी अपिलका कारण पनि उनलाई खोज्न सहज भएको परिवारले जनाएको छ। पीडित पक्षका अनुसार नेपालमा चम्फा विक नाम प्रयोग गर्ने र आफूलाई लक्ष्मी विक भनेर चिनाउने महिला देह व्यापारमा संलग्न रहेको आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुर ले आरोपित चम्फा विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। पीडित पक्षले न्याय तथा दोषीमाथि कारबाहीको माग गर्दै जाहेरीसमेत दर्ता गरिसकेको जनाएको छ।
पीडित टंका (सुनिता) विकका अनुसार आफू राखिएको स्थानमा धेरै नेपाली महिलाहरू देह व्यापार गर्न बाध्य अवस्थामा रहेका थिए। आर्थिक अभाव, रोजगारीको प्रलोभन तथा विभिन्न दबाबका कारण नेपाली महिलाहरू यस्तो जालोमा फस्ने गरेको उनले बताइन्।
मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध न्यूनीकरणका लागि राज्यले गाउँस्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, रोजगारीका नाममा हुने प्रलोभनबारे सचेतना फैलाउनुपर्ने तथा सीमा निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको स्थानीयवासीको भनाइ छ।
