घाेडाघाेडी १४ जेष्ठ २०८३ | घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुई दिने कृषक तालिम सुरु भएको छ। किसानहरूलाई प्राकृतिक तथा अर्गानिक खेतीप्रति आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा नगरका १२ वटै वडाका किसानहरूको सहभागिता रहेको छ।

उक्त कार्यक्रम घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि विज्ञ खगेन्द्रप्रसाद शर्मा, कृषि विकास शाखाका प्रमुख जनकसिंह धामी, तालिम संयोजक गणेशबहादुर शाही तथा लोकेन्द्रबहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो।

तालिमका प्रमुख प्रशिक्षक खगेन्द्रप्रसाद शर्माले प्राकृतिक खेती मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले रासायनिक खेतीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै प्राकृतिक खेती प्रणाली अपनाउँदा रोग नियन्त्रण तथा स्वस्थ जीवनयापनमा सहयोग पुग्ने बताए। विभिन्न अनुसन्धान र प्रयोगहरूले प्राकृतिक खेतीको महत्व पुष्टि गरिसकेको भन्दै किसानहरूलाई रासायनिक उत्पादनभन्दा प्राकृतिक उत्पादनतर्फ उन्मुख हुन आग्रह गरे।

त्यसैगरी कृषि विकास शाखाका प्रमुख जनकसिंह धामीले दीर्घकालीन रूपमा स्वस्थ जीवन बाँच्न प्राकृतिक खेती आवश्यक रहेको बताए। उनले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। किसानहरूलाई प्राकृतिक खेतीबारे व्यावहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको उनको भनाइ थियो।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले पछिल्लो समय ठूला शहरहरूमा समेत अर्गानिक उत्पादनप्रति आकर्षण बढ्दै गएको उल्लेख गरे। ग्रामीण क्षेत्रका किसानहरूले पनि प्राकृतिक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै उनले दुई दिने तालिम किसानहरूका लागि उपयोगी र प्रभावकारी हुने विश्वास व्यक्त गरे। “स्वास्थ्य छ त सबै छ” भन्ने सन्देशसहित गाईवस्तु पालनमार्फत अर्गानिक खेती प्रवर्द्धन गर्नुपर्नेमा जाेड दिदै सहाभागीहरूलाइ सुझाव दिएका थिए । उनले थप जाेड दिदै गाईवस्तु पालन घट्दै जाँदा गोबरको अभाव भएको र अर्गानिक खेती गर्न कठिनाइ भइरहेको गुनासो गरेका थिए। गाईवस्तुको संरक्षण तथा व्यवस्थित पालनपोषण गरे प्राकृतिक खेती सहज रूपमा विस्तार गर्न सकिने सुझाव समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रम सञ्चालन कृषि शाखाका प्राविधिक गणेशबहादुर शाहीले गरेका थिए। आयोजकका अनुसार तालिम जेठ १४ र १५ गतेसम्म सञ्चालन हुने तथा सहभागी किसानहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।

याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे प्रतीक्रिया दिनुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *