जोशिपुर ५ जेष्ठ// कैलाली जिल्लाको जोशीपुर गाउँपालिका मा जोशीपुर JCI ले वर्ष २०२६ को कार्यसम्पादन प्रतिवेदन प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता शाखा वर्ष २०२६ का अध्यक्ष जीवनलाल डंगौरा ले गरेका थिए। कार्यक्रममा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा वर्ष २०२६ अन्तर्गत हालसम्म सम्पन्न भएका गतिविधि तथा कार्यसम्पादनको प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा सञ्चालन गरिने योजना, कार्यक्रम तथा प्रस्तावहरूबारे अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो।
जोशीपुर जेसीजले आफ्नो १२ औँ शाखा अधिवेशनबाट अध्यक्ष जीवनलाल डंगौराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि सामाजिक तथा सांगठनिक गतिविधिलाई तीव्रता दिएको जनाएको छ। शाखाले नेतृत्व विकास, सामाजिक सेवा, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न शाखासँग सहकार्य गर्दै विविध गतिविधि सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। शाखाले ११ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न गर्नुका साथै विभिन्न बोर्ड बैठकहरू सञ्चालन गरेको थियो। मनोनित सदस्यहरूलाई प्रमाणपत्र वितरण, नेतृत्व विकाससम्बन्धी तालिममा सहभागिता तथा सार्वजनिक वक्तृत्वकला तालिममा सदस्यहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्षको जन्मदिनको अवसरमा बर्दगोरिया गाउँपालिका–५ स्थित सहारा घरलाई खाद्यान्न सहयोग प्रदान गरिएको थियो। त्यस्तै माघी पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा विद्यालयस्तरीय स्वास्थ्यसम्बन्धी मोटिभेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो।यसैगरी, कैलाली निर्वाचन क्षेत्र नम्बर १ र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम ‘ककस–२०८२’ आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न जेसीज शाखाहरूको सहकार्य रहेको थियो।नेपाल जेसीजद्वारा आयोजित ‘लोम लिडर्स एकेडेमी’ तथा पोखरा मा सम्पन्न ‘नेशनल काउन्सिलर एकेडेमी’ मा शाखाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। साथै फेब्रुअरी महिनाको टास्क सफलतापूर्वक सम्पन्न गरेबापत जोशीपुर जेसीजलाई ‘संकल्प टु सक्सेस’ अवार्डबाट सम्मानित गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।शाखाले नयाँ वर्ष २०८३ को भित्तेपात्रो विमोचन कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ।
साथै घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका लगायत छिमेकी शाखासँगको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै संस्थालाई थप सशक्त बनाउँदै लगिएको शाखाले जनाएको छ।कार्यक्रममा अध्यक्ष जीवनलाल डंगौराले निवर्तमान अध्यक्षहरूसँग आगामी वर्षका योजना तथा निरन्तरता सहित सञ्चालन गरिने खेलकुद कार्यक्रमबारे प्रस्तावसहित छलफल भएको जानकारी दिएका थिए। साथै सम्पूर्ण टिमले नेतृत्वलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रम सञ्चालन वर्ष २०२६ का महासचिव सन्तोष विक ले गरेका थिए भने, निवर्तमान अध्यक्षहरूले आफ्नो अनुभव साझा गर्दै नेतृत्वले गरेका निर्णयप्रति सकारात्मक धारणा राख्दै आवश्यक सल्लाह तथा सुझाव दिएका थिए।
कार्यक्रममा सहभागीहरूलाई मायाको चिनो स्वरूप जोशीपुर जेसीजको लोगो अंकित टिसर्ट अध्यक्ष जीवनलाल डंगौराको हातबाट हस्तान्तरण गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला
