घोडाघोडी २९ बैशाख // कैलालीको जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडस्थित हेलिप्याडमा “पोषण प्रदर्शनी मेला २०८३” सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आयोजना तथा केयर नेपाल, आईडिइ नेपाल र याक नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम धनश्याम ओझा को सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा खडकबहादुर रावत सहभागी रहेका थिए। कार्यक्रममा नगर कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, स्वास्थ्यकर्मी, महिला समूह, कृषक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। केयर नेपाल, आईडिइ नेपाल र याक नेपालद्वारा सञ्चालित पोषण परियोजना अन्तर्गत २५ वटा आमा समूहहरूको सहभागितामा पोषण प्रदर्शनी मेला आयोजना गरिएको थियो।

मेलामा स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक तरकारी, अन्नबाली तथा पौष्टिक खानेकुराहरू पकाएर प्रेरणामूलक रूपमा प्रदर्शन गरिएको थियो।प्रदर्शनीमा अर्गानिक खेती, स्मार्ट कृषि प्रणाली तथा नवप्रवर्तनमा आधारित विभिन्न जानकारीमूलक स्टलहरू राखिएका थिए। साथै स्थानीय कृषकहरूले उत्पादन गरेका कृषि सामग्रीसमेत प्रदर्शनमा राखिएको थियो। कार्यक्रममा जलवायु परिवर्तन अनुकूल कृषि प्रविधि अपनाएर उत्पादन वृद्धि गर्ने उपायबारे जानकारी दिइएको आयोजकले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खडकबहादुर रावत ले गर्भवती महिला, सुत्केरी आमा र बालबालिकाका लागि पौष्टिक आहार अत्यन्त आवश्यक रहेको बताउँदै कुपोषण न्यूनीकरणका लागि सबैले सचेत हुनुपर्ने धारणा व्यक्त गरे।


उनले स्थानीय स्तरमै उत्पादन हुने अर्गानिक तथा पोषणयुक्त खानेकुराको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै पोषण क्षेत्रमा काम गरिरहेको एक नेपाललगायत साझेदार संस्थालाई धन्यवादसमेत दिए। त्यस्तै, घोडाघोडी नगरपालिकाका कृषि शाखा प्रमुख जनकसिंह धामी ले यस्ता पोषण तथा कृषि प्रदर्शनी कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए। मेलाका क्रममा पोषणसम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो भने विभिन्न आमा समूहहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। सुनौला हजार दिनका आमा तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकको रहेको छ। आयोजकका अनुसार यस्ता मेलाले ग्रामीण समुदायमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
