वीरगन्ज / २९ वैशाख — माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजापछि निराश बनेका एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका १५ वर्षीय छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्। पारिवारिक स्रोतका अनुसार सोमबार साँझ एसइईको नतिजा सार्वजनिक भएपछि शन्नी निकै निराश र चिन्तित देखिएका थिए। उनी वीरगन्जस्थित नरसिंह माध्यमिक विद्यालय का विद्यार्थी थिए। परिवारका सदस्यहरूले उनलाई सम्झाउने प्रयास गरिरहेका बेला राति करिब ११ः३० बजे उनी अचानक आफ्नै कोठामा प्रवेश गरी ढोका बन्द गरेका थिए। ढोका खोल्न समय लागेपछि परिवारले भित्र पुग्दा उनले तन्नाको पासो लगाएर आत्महत्या गरिसकेको अवस्थामा फेला पारेको जनाइएको छ।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा को टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। एसइईको नतिजापछि विद्यार्थीहरूमा मानसिक दबाब बढ्ने र कहिलेकाहीँ यस्ता दुःखद घटनासमेत हुने गरेका छन्। शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले परीक्षा जीवनको अन्तिम निर्णय नभएको भन्दै अभिभावकलाई बालबालिकामाथि अनावश्यक दबाब नदिन र उनीहरूको मानसिक अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *