काठमाडौं २२ बैशाख । बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि राजनीतिक दलका “स्लिपर सेल” का रूपमा काम गर्दै आएको बताएका हुन्।
उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गएको छ। उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त नगरेसम्म न त शिक्षाको गुणस्तर सुधारिने न कर्मचारीको सम्मान सुरक्षित रहने जिकिर गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई प्रणाली सुधारका लागि गरेको उल्लेख गर्दै उनले थप दलगत संगठन स्थापना गर्नु समाधान नभएको बताए।
शाहले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्नुपर्ने स्पष्ट निर्णय आवश्यक भएको बताए। यसले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता सुदृढ गर्ने उनको भनाइ छ।
उनले नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता नभई विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। विद्यार्थीले सभ्य, विचारशील र जिम्मेवार राजनीति सिक्नुपर्ने तथा कर्मचारीले कुनै दल होइन, जनताको सेवा गर्नुपर्ने उनको धारणा छ।
यो कुनै दलविरुद्धको अभियान नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको उल्लेख गर्दै शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न अध्यादेशमार्फत कदम चालिएको जानकारी दिएका छन्।
उनले परिवर्तन भाषणले नभई निर्णयले आउने बताउँदै सरकार जनचाहना अनुरूप काम गरिरहेको र आम नागरिकको साथ र विश्वास आवश्यक रहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *