घोडाघोडी, १६ बैशाख २०८३। कैलालीको घोडाघोडी नगरपालिका–१२, कोटामा एक पूर्व शिक्षकले आधुनिक प्रविधि अपनाएर व्यावसायिक प्याज खेती सुरु गरेका छन्। पुर्व शिक्षक समेत रहेका शिवकुमार कठरियाले करिब २० कट्ठा जमिनमा मल्चिङ प्रविधिबाट प्याज खेती गर्दै यस वर्ष १०० कुण्डल उत्पादन गर्ने लक्ष्य लिएका छन्।

कठरियाले कृषि क्षेत्रमा सम्भावना देखेर शिक्षण पेशा छाड्दै व्यावसायिक खेतीतर्फ लागेको बताए। “हामीजस्ता युवाले जोखिम मोलेर उत्पादन बढाउन सके घाटा हुँदैन,” उनले भने, “एक्काइसौँ शताब्दीमा पनि जोखिम लिन नसक्ने हो भने नेपालमा उत्पादन घट्दै जाने खतरा हुन्छ।”

जानकी गाउँपालिकाका एक किसानले गरेको मौसमी तथा बेमौसमी तरकारी खेतीबाट प्रेरित भएर आफूले प्याज खेती सुरु गरेको उनको भनाइ छ।

गत वर्ष पनि उनले प्याज खेती गरेका थिए। तर, उचित मूल्य नपाउनुका साथै भण्डारणको अभावका कारण करिब ३ लाख रुपैयाँ बराबरको प्याज कुहिएपछि फाल्नुपरेको उनले गुनासो गरे। “भण्डारणको व्यवस्था नहुँदा मेहनत खेर गयो,” उनले भने।

उनका अनुसार, प्रति १० कट्ठामा करिब ३५ हजार रुपैयाँ श्रम लागत लाग्ने गरेको छ। दुई कट्ठा जमिनमा नर्सरी तयार गरी बेर्ना उत्पादन गरेर रोपाइँ गरिएको उनले बताए। प्रति कट्ठा करिब ५ कुण्डल उत्पादन हुने अनुमानसहित यस वर्ष २० कट्ठाबाट १०० कुण्डल उत्पादन गर्ने लक्ष्य राखिएको छ।

कठरियाले उत्पादन बढाउन सके मूल्य घटे पनि घाटा नहुने दाबी गर्दै कृषि क्षेत्रलाई व्यवस्थित बनाउन राज्यको भूमिका महत्त्वपूर्ण हुने बताए। “सरकारले किसानलाई आवश्यक प्रविधि, ज्ञान, सीप र बजेटको व्यवस्था गर्नुपर्छ,” उनले भने, “साना–साना अनुदानभन्दा वास्तविक किसानलाई ठूला कार्यक्रममार्फत सहयोग गरिनुपर्छ।”

नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन आवश्यक रहेको उनको जोड छ। “कृषिमा लगानी बढाउन सके मात्र देशले विकासमा फट्को मार्न सक्छ,” उनले उल्लेख गरे।

प्याज खेतीमा राम्रो सम्भावना देखेपछि आगामी दिनमा अझ ठूलो परिमाणमा उत्पादन विस्तार गर्ने योजना रहेको कठरियाले बताए।

तपाइलाइ याे समाचार पढेर कस्ताे लाग्याे ? प्रतिक्रिया दिनुहाेला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *