भजनी, २० बैशाख । कैलालीको भजनी नगरपालिकामा गुणस्तरीय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै “संवादबाट समाधान, गुणस्तरीय शिक्षामा सुधार” भन्ने नारासहित “प्रधानाध्यापकसँग संवाद कार्यक्रम” सम्पन्न भएको छ।

भजनी जालापा मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा भजनी क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन, शिक्षक–विद्यार्थी सम्बन्ध, शैक्षिक अनुशासन, सिकाइ उपलब्धि वृद्धि तथा समग्र शैक्षिक सुधारका विविध विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक सञ्जाल भजनीका संयोजक पदमबहादुर शाहीले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै विषयगत शिक्षक अभाव, अभिभावक शिक्षाको कमी, दरबन्दी मिलानमा असन्तुलन तथा योजनाको प्राथमिकिकरण नहुँदा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो।

उहाँले विद्यालय तहबाटै सुधारका पहल सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि खुला संवाद, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो। विद्यालयभित्र देखिएका समस्यालाई बाहिर पुर्‍याउनु भन्दा विद्यालयभित्रै समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षकहरूबीच बढ्दो गुटबन्दीले शैक्षिक वातावरण कमजोर बनाएको बताउनुभयो।

“शिक्षकहरूबीच एकता र सहकार्य नहुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा पर्छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्यालयलाई राजनीति र गुटबन्दीबाट मुक्त राख्न जरुरी छ।”

त्यस्तै, महुन्याल माध्यमिक विद्यालय भजनीका प्रधानाध्यापक विद्याप्रसाद भट्टले शिक्षाको गुणस्तरमा शिक्षकहरूको भूमिकाबारे धारणा राख्दै प्राज्ञिक क्षमताभन्दा बढी पेशागत प्रवृत्ति बढ्दै जाँदा शिक्षामा नकारात्मक असर परेको बताउनुभयो। उहाँले शिक्षालाई केवल पेशा नभई सेवा र जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

प्रधानाध्यापक भट्टले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र नियमनकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै समन्वय अभावकै कारण धेरै राम्रा योजना कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो।

उहाँका अनुसार पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो मोबाइल प्रयोग, बालविवाह तथा लागुऔषध दुर्व्यसनजस्ता सामाजिक चुनौतीहरूले विद्यालय शिक्षामा गम्भीर असर पारिरहेका छन्। यस्ता समस्याले विद्यार्थीको ध्यान अध्ययनबाट विचलित गरिरहेको उल्लेख गर्दै उहाँले विद्यालय, अभिभावक र समुदायले संयुक्त रूपमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि स्थानीय तहमा शिक्षाको गुणस्तर सुधारका लागि नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए। उनीहरूले शिक्षक तालिम, प्रविधिको समुचित प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा नियमित अनुगमन प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

आयोजक भजनी जालापा मिडिया प्रा.लिका प्रबन्धक यज्ञराज जोशीले यस्ता संवाद कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा समाधानका लागि साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

कार्यक्रमको सहजीकरण राजापुर एफ.एम.का प्रबन्ध निर्देशक केशव कोइरालाले गर्नुभएको थियो। सहभागीहरूले गुणस्तरीय शिक्षा सुधारका लागि सबै पक्षबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेकोमा एकमत व्यक्त गरेका छन्।

याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *