काठमाडौं १२ चैत्र काठमाडौं मा नर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे हुने भएको छ। शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालय ले जनाएको छ।शपथ कार्यक्रम प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले गराउनेछन्।

यसअघि रामचन्द्र पौडेल ले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने जनाइएको छ।

नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार शपथ लिने व्यवस्था गरिएको हो। सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको तस्बिरसहित तोकिएको समयभन्दा दुई घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ।

शपथ समारोहमा सहभागी हुन औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ। कार्यक्रमस्थलमा सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन तथा अन्य आवश्यक संरचनाहरू तयार पारिएको सचिवालयले जनाएको छ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले उल्लेखनीय सिट प्राप्त गरेका छन्।

निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *