टीकापुर,१० फाल्गुन । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ।कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा फागुन मसान्तसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ मात्र उठाउन सफल भएको हो। यससँगै बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती देखिएको छ।भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीका अनुसार सबैभन्दा कम राजस्व साउन महिनामा सङ्कलन भएको थियो।

उक्त महिनामा १ करोड २८ लाख ९० हजार लक्ष्य रहे पनि ६३ लाख ३७ हजार रुपैयाँ मात्रै उठेको, जुन लक्ष्यको ४९.१७ प्रतिशत हो।यता, सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन भएको छ। मङ्सिरमा १ करोड २१ लाख १० हजार लक्ष्य रहेकामा १ करोड ६७ लाख ७४ हजार रुपैयाँ अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व उठेको कार्यालयले जनाएको छ।आठ महिनाको अवधिमा असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ भने साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन।भन्सार प्रमुख सोनीले बाँकी चार महिनामा लक्ष्य पूरा हुने दाबी गरेका छन्।

“सामानको आयातको अवस्था अनुसार राजस्व सङ्कलन निर्धारण हुन्छ,” उनले भने, “हालसम्मको आयात प्रवृत्ति हेर्दा लक्ष्य हासिल हुनेमा हामी आशावादी छौँ।”उनले खुला सिमानाका कारण चोरीपैठारीका घटना बढ्ने भएकाले राजस्व सङ्कलनमा चुनौती रहेको पनि बताए।

साथै, भन्सारको स्तरोन्नति गरी क्वारेन्टाइन सेवा स्थापना गर्न सके राजस्व सङ्कलन करोडबाट अर्बमा पुग्ने विश्वास व्यक्त गरे।गत आर्थिक वर्षमा सत्ती भन्सारले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो। १२ करोड ७ लाख ३२ हजार लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ हजार रुपैयाँ अर्थात् ११९ प्रतिशत राजस्व उठाएको थियो। तर, त्यसअघिका वर्षहरूमा भने लक्ष्य हासिल हुन सकेको छैन।

आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १ लाख ४७ हजार लक्ष्य रहेकामा १० करोड २ लाख ४२ हजार मात्र सङ्कलन भएको थियो। त्यसैगरी, २०७९/८० मा १६ करोड ९४ लाख ४१ हजार लक्ष्य हुँदा ७ करोड ५० लाख ४० हजार मात्रै उठेको थियो।आर्थिक वर्ष २०७८/७९ मा २० करोड ५८ लाख ६१ हजार लक्ष्य राखिएकोमा १० करोड ६७ लाख ९३ हजार मात्र सङ्कलन भएको थियो भने २०७७/७८ मा भने १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकोमा १५ करोड ८३ लाख ७ हजार राजस्व सङ्कलन गर्दै लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *