मोहन्याल ९ चैत्र – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बुडियमकी एक महिलाले स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै शिशु जन्माएकी छन्।

स्थानीय दुर्गा बिक फलेबिसाउन स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा अचानक प्रसव पीडा बढेपछि सोमबार बिहान करिब १०:४५ बजे बाटोमै छोरी जन्माएकी हुन्।

घटनाबारे जानकारी पाएपछि फलेबिसाउन स्वास्थ्य चौकीमा कार्यरत नर्स रुपा साउद तत्काल घटनास्थलमा पुगेर सुत्केरी गराउन आवश्यक प्राथमिक उपचार र स्याहार–सुसार गरेकी थिइन्। पछि आमा र नवजात शिशुलाई स्वास्थ्य चौकीमा ल्याई सुरक्षित राखिएको जानकारी उनले दिएकी छन्।

स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा आवतजावतको सहज व्यवस्था नभएकाले यस्ता घटना दोहोरिने गरेका छन्। सडकको अभाव, सवारी साधनको कमी तथा आधारभूत पूर्वाधार नहुँदा बिरामीलाई समयमा स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या हुने गरेको छ।

कैलाली जिल्ला सुगम मानिए पनि मोहन्याल गाउँपालिकाका केही वडाहरू अझै पनि दुर्गम अवस्थामै छन्। विद्युत्, खानेपानी र सडकजस्ता आधारभूत सेवाको अभावले स्थानीय नागरिक दैनिक जीवनमै कठिनाइ भोग्न बाध्य छन्।

स्थानीयहरूले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *