कैलाली, ७ चैत्र — कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्यताका साथ सम्पन्न भएको छ। दलित जागरण अभियान का संयोजक एल.बी. गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री लक्ष्मी वि.क. को उपस्थिति रहेको थियो भने, विशिष्ट अतिथिका रूपमा संविधानसभा सदस्य हरि श्रीपाइली, सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार र खुशिराम चौधरी सहभागी थिए।

अतिथिहरूमा खडक बहादुर रावत, टीकापुर नगरपालिकाका कार्यवाहक मेयर रामबहादुर नगार्जी, भजनी नगरपालिकाका उपमेयर राजु तिरुवा, बर्दगाेरीया गाउपालिका २ नं. वडा अध्यक्ष गाेबिन्द वि.क, दलित आयोगकी पूर्व सदस्य रमा बादी लगायत विभिन्न क्षेत्रका अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भने कार्यक्रम संचालन दलित जागरण अभियानका सचिव रूपकलाल सुनारले गर्नुभएकाे थियाे ।

“समानताका लागि साझा अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले जातीय भेदभाव उन्मूलन सबैको साझा दायित्व भएको उल्लेख गर्दै यसको अन्त्यका लागि जनचेतना अभिवृद्धि र संविधान प्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए।

हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइने यस दिवसले जातीय तथा रंगभेदको अन्त्य गर्दै उत्पीडित वर्ग र समुदायको सम्मान, समान हक–अधिकार र सामाजिक न्यायको पक्षमा वकालत गर्दै आएको छ। संयुक्त राष्ट्र संघ ले सन् १९६५ मा जातीय भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरी सन् १९६६ देखि यो दिवस मनाउन सुरु गरेको हो भने नेपालले सन् १९७१ मा उक्त महासन्धि अनुमोदन गरेको थियो।

नेपालमा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि वि.सं. २०६३ जेठ १६ गते देशलाई छुवाछुट तथा जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरिएपछि यस दिवसले अझ बढी महत्व पाएको छ। कार्यक्रममार्फत सामाजिक एकता, सद्भाव, समानता र न्याय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *