टीकापुर, ६ चैत्र, कैलाली टीकापुर नगरपालिका वडा नं. १ मा सञ्चालनमा रहेको महुन्याल भैँसी फर्मका सञ्चालक दुर्गाप्रसाद जैसी र ईश्वरीकुमारी जैसी अहिले सफल पशुपालक व्यवसायीका रूपमा परिचित बन्दै गएका छन्। उनीहरूले दैनिक ६० देखि ७० लिटरसम्म दूध उत्पादन गर्दै स्थानीय बजारमा आपूर्ति गरिरहेका छन्।

२०७० सालमा भजनीबाट भैँसी पालन व्यवसाय सुरु गरेका जैसी दम्पतीले हाल टीकापुर बहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर व्यवसायलाई थप विस्तार गरेका छन्। सुरुका दिनमा विभिन्न चुनौती सामना गर्नुपरे पनि निरन्तर मेहनत र परिवारको साथले आज उनीहरूलाई सफल बनाएको दुर्गाप्रसाद जैसी बताउँछन्।

उत्पादन भएको दूध नजिकैको टीकापुर बजारस्थित सहकारी संस्थामा बिक्री हुने गरेको छ भने केही दूध स्थानीय स्तरमै खपत हुने गरेको छ। बजारको सहज पहुँचका कारण दूध बिक्रीमा खासै समस्या नभएको उनी बताउँछन्।

पुर्ख्यौली रूपमा पशुपालन गर्दै आएको परिवारले पछि यसलाई व्यवस्थित र व्यावसायिक बनाउने निर्णय गरेपछि गाई–भैंसी पालनमार्फत राम्रो आम्दानी गर्न सफल भएको उनीहरूको भनाइ छ। दूधसँगै गाईभैंसीबाट उत्पादन हुने गोबर मलसमेत बिक्री गर्दै अतिरिक्त आम्दानी लिन सफल भएका छन्।

विशेषगरी, गोबर र पिसाबबाट उत्पादन गरिने गडौला मल खेतीका लागि निकै उपयोगी मानिने भएकाले यसको मागसमेत बढ्दो रहेको जैसीले जानकारी दिए।

तर, उनले कृषि क्षेत्रमा देखिएका चुनौतीहरू पनि औंल्याएका छन्। नेपाल सरकारले कृषि तथा पशुपालनका लागि अनुदान र सहुलियत कर्जाका कार्यक्रम ल्याए पनि व्यवहारमा पहुँच भएका र कागजी प्रक्रिया मिलाउन जान्ने व्यक्तिले मात्र लाभ लिने गरेको उनको गुनासो छ। पर्याप्त धितो नहुँदा बैंकबाट ऋण पाउन कठिन हुने समस्या अझै विद्यमान रहेको उनी बताउँछन्।

कृषि र पशुपालनमा राज्यले पर्याप्त ध्यान नदिए आन्तरिक उत्पादन कमजोर भई विदेशमा निर्भर हुनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले कृषि क्षेत्रको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरणमा सरकारले विशेष नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।

स्थानीय स्तरमै उत्पादन र आम्दानीको राम्रो उदाहरण प्रस्तुत गरेका जैसी दम्पतीको भैंसी पालन व्यवसाय अहिले अन्य किसानका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *