समाचार:दिपक विक

टीकापुर, ४ फागुन सुदुरपश्चिम कैलाली जिल्लामा फागुन २ गते दिउँसो करिब ३:४५ बजे आएको हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १, एकतानगर क्षेत्रमा विद्युत् पोलहरू भाँचिएका थिए।

हावाहुरीका कारण ढलेका पोलहरूको मर्मत कार्य फागुन ३ गते बिहानैदेखि सुरु गरिएको हो। नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण शाखाबाट खटिएका प्राविधिकहरू र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा मर्मत कार्य भइरहेको छ।

सोही दिन साँझतिर विशालनगर क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो।तर एकतानगर बस्तीमा पोलहरूमा बढी क्षति पुगेकाले हालसम्म विद्युत् आपूर्ति पुनःस्थापित हुन सकेको छैन।

अहिले स्थानीयवासी र प्राविधिकहरू मिलेर पोल परिवर्तन तथा मर्मत कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेका छन्।

विद्युत् सेवा अवरुद्ध हुँदा विगत तीन दिनदेखि एकतानगर बस्तीका बासिन्दाको जनजीवन प्रभावित बनेको छ। बत्ती नहुँदा घरभित्र किराफट्याङ्ग्रा पस्ने, साना बालबालिका भएका परिवारमा रातिको समयमा त्रासपूर्ण अवस्था सिर्जना हुने, मोबाइल चार्ज गर्न कठिनाइ हुने तथा आफन्तसँग सम्पर्क गर्न समस्या भइरहेको स्थानीयको गुनासो छ।

साथै, इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनमार्फत काम गर्नेहरूलाई थप समस्या भएको छ।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण शाखाका प्राविधिक लक्ष्मण चौधरीका अनुसार अधिकांश मर्मत कार्य सम्पन्न भइसकेको र अबको करिब एक घण्टाभित्र एकतानगरमा पनि विद्युत् सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

उक्त हावाहुरीका कारण फागुन २ गते एकतानगर र विशालनगर दुवै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

एकतानगर निवासी धनासुरे विकले तीन दिनदेखि बत्ती नहुँदा टाढा गएर मोबाइल चार्ज गर्नुपरेको बताउँदै अब छिट्टै विद्युत् सेवा सञ्चालनमा आएमा सहज हुने आशा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *