जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

शिक्षा समाचार

विद्यालयको जग्गा खाली गराउन कडा कदम, विद्युत लाइन काट्ने निर्णय

घोडाघोडी ४ चैत्र २०८२— कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखड उत्तरपूर्वी बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नं. ७ घ २५१ अन्तर्गत १–१२–२ क्षेत्रफलको जग्गा खाली गराउन विद्यालयले कडा कदम चाल्ने निर्णय गरेको छ।

विद्यालयले मिति २०८२ फागुन ३ गते सार्वजनिक सूचना जारी गर्दै उक्त जग्गामा रहेका अस्थायी संरचना हटाउन निर्देशन दिएको थियो। सोही सूचनाअनुसार विद्युत लाइन काट्ने तथा सार्वजनिक घर–टहरामा डोजर प्रयोग गरी हटाउने निर्णय समेत गरिएको थियो। केही प्रयास गरिए पनि अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूले सूचनालाई बेवास्ता गर्दै हालसम्म संरचना नहटाएको विद्यालयले जनाएको छ।

यसै सन्दर्भमा विद्यालय व्यवस्थापन समितिको मिति २०८२ चैत ३ गते बसेको बैठकको निर्णय नं. १ बमोजिम, उक्त क्षेत्रका घर–टहराहरू खाली गराउन थप प्रक्रिया अघि बढाइएको हो। विद्यालयले २०८२ चैत ८ गतेभित्र उक्त जग्गामा जडान गरिएका विद्युत लाइन काट्नका लागि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय भजनी, कैलालीलाई सार्वजनिक पत्राचार गरि अनुरोध गरेको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालका अनुसार, तोकिएको समयसीमाभित्र अतिक्रमणकारीहरूले आफ्ना संरचना नहटाएमा बल प्रयोग गरेर हटाउने निर्णय गरिएको छ।विद्यालयले आफ्नो स्वामित्वको जग्गा संरक्षण तथा शैक्षिक प्रयोजनका लागि खाली गराउन आवश्यक प्रक्रिया अघि बढाएको जनाउँदै सम्बन्धित सबै पक्षलाई समयमा नै संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोला।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *