भजनी, ३ चैत्र २०८२, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता (यार्ड) धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना अन्तर्गत उक्त प्रतिबद्धता गरिएको हो। परियोजनाले बालमैत्री स्थानीय शासन र पोषणमैत्री वडा निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नेपाल सरकारको कार्ययोजना अनुसार स्थानीय तहहरू बालमैत्री तथा पोषणमैत्री बनाउनु अपरिहार्य रहेको बताए। उनले भजनी नगरपालिकाले यस अभियानलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको उल्लेख गर्दै पहिलो चरणमै वडा नम्बर १ लाई निर्धारित समयभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र पारिएको जानकारी दिए।

कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट तथा वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलगायतले पनि आ–आफ्ना धारणा राख्दै अभियान सफल बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

अभियानलाई सफल बनाउन नगरपालिकाका विभिन्न शाखा प्रमुख, नगर तथा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति, सरोकारवाला निकाय, संघ–संस्था, शिक्षक, अभिभावक, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री तथा पोषणमैत्री वडा निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *