कैलाली, २६ फागुन। “दलितको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कैलाली जिल्ला स्तरीय दलित अगुवाहरूको भेला बर्दगोरिया गाउँपालिका–१ मा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहबाट आएका दलित समुदायका अगुवा, अभियन्ता तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलाको अध्यक्षता लालबहादुर गौतम सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भूमि आयोग जिल्ला सदस्य दानबहादुर बिक सहभागी हुनुभएको थियो। कार्यक्रममा लामो समयदेखि दलित समुदायको हक–अधिकारका लागि संघर्ष गर्दै आएका विभिन्न अभियन्ताहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपालमा लामो समयदेखि दलित समुदायलाई हेप्ने, चेप्ने तथा पिछडिएको वर्गका रूपमा व्यवहार गर्ने प्रवृत्ति अझै कायम रहेको बताएका छन्। संविधानमा दलित समुदायको हक र अधिकार सुनिश्चित गर्न विभिन्न धारा तथा उपधाराहरू व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूको गुनासो थियो।

भेलामा बोल्दै सहभागीहरूले विगतका विभिन्न कालखण्डमा दलित अधिकारको लागि धेरै व्यक्तिहरूले आफ्नो जीवन नै बलिदान दिएको स्मरण गरे। यद्यपि, समाजमा अझै पनि जातीय आधारमा हुने विभेदका घटनाहरू भइरहेका कारण दलित समुदायले विभिन्न समस्याहरू भोग्नुपरेको उनीहरूको भनाइ थियो।
दलित समुदायमा केही सकारात्मक परिवर्तन देखिए पनि जातीय विभेदको पूर्ण अन्त्य हुन नसकेको, दलितहरूको पहिचान सुनिश्चित नहुने तथा परम्परागत पेशालाई व्यवसायीकरण गर्न राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा पनि सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए।

भेलाले दलित समुदायको एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा संगठित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सोही क्रममा लालबहादुर गौतम सुनारको संयोजकत्वमा १५ सदस्यीय दलित अभियान तदर्थ समिति चयन गरिएको छ।
नवगठित समितिले मार्च २१ (चैत्र ७ गते) मनाइने अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको तयारी गर्ने तथा जातीय छुवाछुत र विभेद अन्त्यका लागि अभियानलाई निरन्तर अघि बढाउने निर्णय गरेको जनाइएको छ। साथै, आगामी दिनमा यो अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *