कैलाली ३० असाेज २०८३। ‘देशकै खाऔँ, देशकै लगाऔँ, देशमै रमाऔँ’ भन्ने नारासहित आत्मनिर्भर महाअभियानअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१, सुखड बजारमा गोठालो मार्टको नयाँ शाखा सञ्चालनमा आएको छ।
६ जना स्थानीय युवाको संयुक्त लगानीमा करिब २५ देखि ३० लाख रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याइएको हो। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय स्तरमा उत्पादित वस्तुको खरिद, बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरिएको सञ्चालकहरूले बताएका छन्।

गोठालो मार्ट डा. निकोलस भुसालको नेतृत्वमा देशका विभिन्न ठूला बजारमा विस्तार हुँदै आएको छ। सुखडमा सञ्चालनमा आएको शाखाले स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई व्यवस्थित रूपमा संकलन गरी उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको छ।
स्थानीय किसानले उत्पादन गरेका वस्तुको उचित प्याकेजिङ, प्रशोधन, भण्डारण तथा बजारीकरणको व्यवस्था नहुँदा किसानले बजारको समस्या झेल्दै आएका छन्। यही समस्यालाई समाधान गर्ने उद्देश्यले गोठालो मार्टले किसानका उत्पादन खरिद गर्ने, स्थानीय बजारमा बिक्री वितरण गर्ने र स्वदेशभित्रै आर्थिक गतिविधि तथा पुँजी निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाइएको छ।
मार्टमा दैनिक उपभोग्य खाद्यान्नलगायत स्वदेशी उत्पादनबाट बनेका विभिन्न सामग्री उपलब्ध हुनेछन्। गाँजाबाट उत्पादित कपडा, झोला, जुत्ता, चप्पल तथा महिलाका शृङ्गार सामग्रीसमेत बिक्रीका लागि राखिएको सञ्चालकहरूले बताएका छन्।
मार्टको उद्घाटन कार्यक्रममा घोडाघोडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिनेश सोप, घोडाघोडी उद्योग वाणिज्य सङ्घका सदस्य विनोद बुचालगायत स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

स्थानीय युवालाई स्वदेशमै उद्यमशील बन्न प्रोत्साहन गर्ने र किसानका उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले संयुक्त लगानीमा व्यवसाय सुरु गरिएको सञ्चालकहरूले बताएका छन्। उनीहरूका अनुसार यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मार्टको व्यवस्थापन तथा आधिकारिकतासम्बन्धी विषयमा डा. निकोलस भुसालले अनुगमन गरेका थिए। उनले स्थानीय क्षेत्रमा यस्तो व्यवसाय आवश्यक रहेको उल्लेख गर्दै सञ्चालकहरूलाई सफलताको शुभकामना दिएका थिए।
उनले स्थानीय किसानलाई आफ्ना उत्पादन गोठालो मार्टसम्म पुर्याउन र उपभोक्तालाई दैनिक उपभोग्य सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रहसमेत गरेका छन्।
स्थानीय उत्पादनको उपयोग, किसानको आम्दानी वृद्धि र स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएको गोठालो मार्टको सुखड शाखाले यस क्षेत्रका किसान, उपभोक्ता र स्थानीय उद्यमीबीच सहकार्य बढाउने अपेक्षा गरिएको छ।
याे समाचार पढेर कस्ताे लग्याे ?
