सुखड १८ असोज २०८३ // । सुदूरपश्चिम प्रदेशमा दलित समुदायले सामना गर्नुपरेका समस्या, भोग्नुपरेको विभेद, चुनौती तथा त्यसको समाधानका उपायबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा दलित समुदायले जातकै आधारमा विभेद भोग्नुपरेको विषयमा गहन छलफल गरिएको थियो। विद्यालय, सार्वजनिक स्थललगायत विभिन्न क्षेत्रमा हुने जातीय विभेदको प्रतिवाद गर्दा उल्टै धम्की, कुटपिट तथा अन्य आपराधिक घटना हुने गरेको भन्दै यस्ता समस्याको अन्त्यका लागि राज्यका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

अन्तरक्रियाका क्रममा गौरीगंगा नगरपालिका–६ मा विद्यालयमा भएको भनिएको सामाजिक विभेदको पछिल्लो घटनालाई प्रमुख आधार बनाएर दलित समुदायले भोग्दै आएका समस्या, विभेद तथा चुनौतीबारे छलफल गरिएको थियो। सहभागीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी दायरामा ल्याउनुपर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी र सामाजिक पहल गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा दलित समुदायको हक, अधिकार र न्यायका लागि विभिन्न राजनीतिक दलमा आबद्ध दलित नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजले समुदायको हितलाई प्राथमिकतामा राखेर साझा रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

अन्तरक्रियामा विगतमा भएका जातीय विभेद तथा अन्यायका घटनाको समीक्षा गर्दै वर्तमानमा भइरहेका घटनाको अनुसन्धान, पीडितलाई न्याय दिलाउने कानुनी प्रक्रिया तथा आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्न अपनाउनुपर्ने विधि र पद्धतिबारे छलफल भएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सांसद लक्ष्मी विकले दलित समुदायको हक र अधिकार सुनिश्चित गर्न आवश्यक परे प्रदेशका विद्यमान कानुन संशोधन गर्नुपर्ने बताइन्। उनले दलित अधिकारसँग सम्बन्धित विषयमा आवश्यक कानुनी सुधारका लागि छलफल भइरहेको जानकारी दिइन्।

त्यस्तै, कार्यक्रममा सहभागी बुद्धिजीवी, शिक्षक, समाजसेवी तथा दलित अगुवाहरूले दलित समुदायको वास्तविक अवस्था, संवैधानिक तथा कानुनी अधिकार र राज्यको दृष्टिकोणबारे गहन अध्ययन तथा छलफल आवश्यक रहेको बताएका थिए। उनीहरूले विभेदविरुद्ध सामूहिक ऐक्यबद्धता कायम गर्दै कानुनी र सामाजिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक जगत विकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, मुक्ति समाजका प्रदेश इञ्चार्ज भारमल सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश समिति सदस्य सुरेश विक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सुरेश तोलाङ्गी, फेडोका कोर्डिनेटर विनय घिमिरे, DWRF अध्यक्ष सावित्रा घिमिरे, RDN अध्यक्ष मोहन ओडलगायत दलित अगुवा, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दलित समुदायमाथि हुने सबै प्रकारका विभेद र अन्यायको अन्त्यका लागि राजनीतिक तथा सामाजिक मतभेदभन्दा माथि उठेर साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *