घोडाघोडी,१७ असोज २०८३// कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीबीच भएको सामान्य विवादले उग्र रूप लिँदा एक विद्यार्थीमाथि सामूहिक कुटपिट भएको आरोप लागेको छ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीबीच सामान्य विवाद भएपछि विहिबार विद्यालयबाहिरबाट थप व्यक्तिहरू बोलाएर ७/८ जनाको समूहले एक विद्यार्थीमाथि सामूहिक रूपमा विधालयको छुट्टी भएपछी घर जान क्रममा कुटपिट गरेको पीडित परिवारले जनाएको छ।

कुटपिटबाट घाइते विद्यार्थीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पीडित पक्षका अनुसार विद्यालयमा विद्यार्थीबीच कक्षा कोठाभित्र विवाद भएपछि शिक्षक तथा अभिभावकको पहलमा घटनालाई विद्यालयमै समाधान गर्ने प्रयास गरिएको थियो। तर, कुटपिटमा संलग्न भनिएका व्यक्तिहरूबाट ‘प्रहरी चौकीमा बोलाउनुहोस्’ भन्ने आशयको धम्कीपूर्ण अभिव्यक्ति आएपछि आफूहरूले कानुनी प्रक्रिया अघि बढाएको पीडित पक्षको भनाइ छ।

विद्यालयभित्र भएको सामान्य विवादलाई लिएर बाहिरबाट थप व्यक्तिहरू बोलाई सामूहिक रूपमा कुटपिट गर्नु सामान्य घटना नभएको भन्दै पीडित पक्षले घटनामा प्रत्यक्ष संलग्न सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग गरेको छ। घटनाले विद्यालयमा विद्यार्थीको सुरक्षा तथा अनुशासनको विषयमा समेत प्रश्न उठाएको छ। विद्यालय विद्यार्थीलाई शिक्षा र संस्कार दिने थलो भए पनि विद्यालय परिसरमै पटक–पटक झैझगडा हुने वातावरण सिर्जना हुनु चिन्ताको विषय भएको स्थानीय तथा अभिभावकहरूले बताएका छन्।
विद्यार्थीको व्यवहार, अनुशासन र संस्कार निर्माणमा विद्यालयसँगै अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने भएकाले बालबालिकाको गतिविधिप्रति अभिभावकले समेत उचित निगरानी र मार्गदर्शन गर्नुपर्ने आवश्यकता देखिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अनुसन्धानपछि घटनामा संलग्न व्यक्तिको भूमिका र कानुनी अवस्था थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
