दार्चुला, ६ असोज । सुदुरपश्चिम प्रदेश दार्चुलाको ब्याँस गाउँपालिका–४ मडगाउँमा बाढी, पहिरो तथा भू–स्खलनका कारण विस्थापित भएका ४० घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट विस्थापित परिवारका लागि ४० थान टेन्ट र ६० थान सिरक–डसना उपलब्ध गराइएको हो। उक्त राहत सामग्री सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीले व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीलाई हस्तान्तरण गरेका हुन्।

व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार व्यास गाउँपालिका–४ मडगाउँमा सुख्खा पहिरो आएपछि स्थानीय नागरिकहरू सडकमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ। पहिरोका कारण विस्थापित परिवारलाई तत्काल आश्रय तथा आवश्यक सामग्रीको अभाव भइरहेका बेला प्रदेश सरकारले गरेको सहयोगले राहत पुगेको अध्यक्ष धामीले बताए।

अध्यक्ष धामीले विपद्का कारण प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा सुदूरपश्चिम प्रदेश सरकार तथा आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीप्रति धन्यवाद व्यक्त गरेका छन्।विपद्का कारण विस्थापित परिवारको सुरक्षित बसोबास तथा व्यवस्थापनका लागि थप आवश्यक सहयोग र समन्वय आवश्यक रहेको स्थानीय तहले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *