घोडाघोडी ३ असोज // संविधान दिवस–२०८३ को अवसरमा सुखड बजार चोकमा दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख खडकबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो। विसं २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले सबै नेपालीलाई समेट्ने र देशका विभिन्न भूगोललाई जोड्ने आधार प्रदान गरेको नगर प्रमुख राउतले बताए।
संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नगर प्रमुख राउतले संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुख, समृद्धि, सुशासन तथा विकासका आकांक्षा पूरा गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। उनले संविधान समयअनुकूल सुधार र संशोधन गर्दै लैजान सकिने दस्तावेज भएको धारणा समेत व्यक्त गरे।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले संविधान नेपाली जनताको साझा अधिकार र आधार भएको उल्लेख गर्दै संविधान दिवसको अवसरमा उपस्थित सबैलाई शुभकामना दिए।
कार्यक्रम सञ्चालन गर्दै घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले विसं २०७२ सालमा जारी नेपालको संविधानमा ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूची रहेको तथा नागरिकका मौलिक अधिकार सुनिश्चित गरिएको बताए। उनले संविधान दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरे।

कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह, इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरी, विद्यालय निरीक्षक उमेशराज रेग्मी, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।सुखड बजारस्थित चौरमा नेपालको नक्साको चारैतिर दीप प्रज्वलन गर्दै संविधान दिवस मनाइएको थियो।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले समेत एक–आपसमा संविधान दिवसको शुभकामना आदान–प्रदान गरेका थिए।
